काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले लोकतन्त्रमा गुट र प्रतिस्पर्धालाई सामान्य रूपमा लिएर विधि र विधानअनुसार चल्नुपर्ने बताए ।
उनले पार्टी फुटेको नभई अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताए । नयाँ नेतृत्वले पार्टी मिलाउने कुरामा पनि उनले विश्वास व्यक्त गरे । नेता शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार पार्टी सभापति गगनकुमार थापा रहेको पनि बताए । ‘चुनावपछि प्रधानमन्त्री गगन थापा हुन्, द्विविधा छैन,’– उनले भने ।
नेता शर्माले अब सबैले इगो त्यागेर अघि बढ्नुपर्ने बताए । उनले अब निर्वाचन केन्द्रीत हुन पनि कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिए ।




प्रतिक्रिया