बर्लिन, ३ माघ । ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य वृद्धिमा देखिएको मन्दताका कारण जर्मनीको मुद्रास्फीति दर डिसेम्बरमा घटेर १.८ प्रतिशतमा पुगेको छ। यससँगै गत वर्ष पहिलो पटक मुद्रास्फीति २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्यांकले देखाएको छ ।
जर्मनीको संघीय तथ्यांक कार्यालय (डेस्टाटिस) का अनुसार सन् २०२५ को समग्र वार्षिक मुद्रास्फीति २.२ प्रतिशत रहेको छ, जुन सन् २०२४ कै बराबर हो ।
डेस्टाटिसकी अध्यक्ष रुथ ब्रान्डले भनिन्, “अघिल्ला वर्षहरूमा २ प्रतिशतभन्दा निकै माथि पुगेको मुद्रास्फीति दर अहिले स्थिर अवस्थामा फर्किएको छ ।”
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा सन् २०२१ मा मुद्रास्फीति ३.१ प्रतिशत पुगेको थियो, जुन करिब तीन दशकयताकै उच्च स्तर थियो। त्यसपछि रुस–युक्रेन युद्धका कारण ऊर्जा र खाद्य मूल्यमा आएको तीव्र वृद्धिले २०२२ र २०२३ मा मुद्रास्फीति क्रमशः ६.९ प्रतिशत र ५.९ प्रतिशतसम्म पुगेको थियो ।
डेस्टाटिसका अनुसार सन् २०२५ मा ऊर्जा मूल्य वार्षिक आधारमा २.४ प्रतिशतले घटेको छ भने खाद्य मूल्य २ प्रतिशतले बढेको छ, जसले समग्र मुद्रास्फीति नियन्त्रणमा मद्दत पुर्याएको हो । तर सामाजिक सेवा, बीमा तथा अस्पताल उपचार खर्च बढेकाले सेवाक्षेत्रका मूल्य भने वार्षिक ३.५ प्रतिशतले वृद्धि भएका छन् ।
जर्मनीको संघीय आर्थिक मामिला तथा ऊर्जा मन्त्रालयले आगामी महिनाहरूमा मुद्रास्फीति दर २ प्रतिशतभन्दा अलि तल वा वरिपरि रहने अनुमान गरेको छ। मन्त्रालयका अनुसार ऊर्जा लागतमा थप गिरावट र कृषि वस्तुका मूल्य घट्नुले मूल्य वृद्धिमा केही राहत दिन सक्छ ।
यद्यपि, इफो इन्स्टिच्युटले सार्वजनिक यातायात भाडा वृद्धि र न्यूनतम ज्याला बढ्नुले सन् २०२६ मा मुद्रास्फीति दबाब फेरि बढ्न सक्ने चेतावनी दिएको छ । रासस




प्रतिक्रिया