काठमाडौं, माघ ४ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटमा पार्टीले गरेको निर्णयबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थान र हैसियतबाट सक्रिय रहन आग्रह गरेका छन्।
एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकबाट अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाइएको हो। तर पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरूको टिकट भने काटिएको छ।
ईश्वर पोखरेलसहित सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेनासहितका नेताहरुको टिकटबारे टुंगो नहुँदा एमाले भित्र तिब्र विरोध र असुन्तुष्टि बढेको छ ।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’




प्रतिक्रिया