ओलीसँग प्रतिस्पर्धा गरेर नाम चलाउन बालेन झापा ५ मा जाँदै हुनुहुन्छ, उहाँले चुनाव चाहिँ जित्नुहुन्नः एमाले नेता थापा


काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह काठमाडौंका जनताको प्रश्नको सामना गर्न नसकेर भाग्न लागेको बताएका छन् । बालेनले झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसित प्रतिस्पर्धा गरेर नाम चलाउन खोजेको उनको टिप्पणी छ । बालेनले चुनाव नजित्ने नेता थापाले दाबी गरे ।

बालेन भित्ताको प्रधानमन्त्री हुने निश्चित रहेको उनको टिप्पणी छ । झापा ५ मा पठाएर बालेनलाई उनकै पार्टीका सभापति रवि लामिछानेले खुर्मुर्याउने दाउ रचिरहेको नेता थापाको आरोप छ । चुनाव हारेपछि कहाँबाट प्रधानमन्त्री बन्नुहुन्छ बालेन शाह ? उहाँको कुनै ग्राउण्ड छैन, चुनाव जित्दै जित्नुहुन्न,’– नेता थापा क्षेत्रीले भने ।

उनले बालेनलाई ‘युरिया हालेको रातो मुला’ सँग तुलना गर्दै उनी हलक्क बढे पनि कुनै स्वाद नरहेको टिप्पणी गरे । एमाले अध्यक्ष ओली र बालेनबीच तुलना गर्नै नसुहाउने उनको टिप्पणी छ । बालेनको तुलना आफूसँग पनि गर्न नसुहाउने नेता थापाले बताए । उनले बालेनलाई भाइको संज्ञा दिए ।

‘बालेन शाह त मेरो पनि भाइ हो । मसँग पनि तुलना हुँदैन । कहाँको केपी शर्मा ओलीसँग तुलना गर्नुहुन्छ भनेको ? म पार्टीको केन्द्रमा १२ वर्षदेखि छु । बालेनजी त एक महिना पनि भएको छैन नि एउटा पार्टीमा प्रवेश गरेको,’– उनले भने ।