एक्लाएक्लै चुनाव लड्ने कांग्रेसको नीति हो भने राष्ट्रिय सभामा पनि गठबन्धन गर्न हुँदैनः नेता भण्डारी (भिडिओसहित)


काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले एक्लाएक्लै चुनाव लड्ने हो भने राष्ट्रिय सभामा पनि एमालेसँग गठबन्धन गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भण्डारीले कांग्रेसले कसैसँग गठबन्धन नगर्ने नीति लिने हो भने राष्ट्रिय सभाको चुनाव पनि एक्लै लड्नुपर्ने बताएका हुन्

‘गठबन्धन कसैसँग नगर्न भएपछि राष्ट्रिय सभामा पनि गठबन्धन किन गर्नुपर्यो र ? त्यसको आवश्यकता के भयो र ? गठबन्धन भनेको सिद्धान्त होइन, आवश्यकताको कुरा हो । आवश्यकताअनुसार जे पनि गर्नुपर्छ भन्ने ठाउँमा जानुपर्छ,’– उनले भने ।

साथै, उनले पार्टी एकता जोगाउन आफूले धेरै प्रयास गरेर पनि असफल भएको सुनाए । मुलुकलाई अप्ठ्यारो परिरहेको बेलामा पार्टी विभाजन भएको भन्दै उनले दुःख व्यक्त गरे । ‘यतिधेरै प्रयास गरेँ । आफूलाई शून्यमा राखेर हेर्न प्रयास गरेँ । कति गर्दा पनि हुन सकेन । मुलुक अप्ठ्यारो परिरहेको बेलामा, देश जलिरहेको बेलामा हामीले नयाँ कुरा सोच्नुपर्थ्यो । जति गर्दा पनि सकिएन,’– उनले भने ।