सभापति बन्न गगनले पैसाको खोलो बगाएको देउवा पक्षीय नेतृको दाबी (भिडिओसहित)


काठमाडौं, ५ माघ । नेपाली कांग्रेसकी नेतृ लक्ष्मी खतिवडाले गगन थापाले ‘तातै खाउँ जली मरौं’ गरेको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशन पक्षधरको क्रियाकलापले कांग्रेसलाई कमजोर बनाएको बताएकी हुन् । उनले विशेष महाधिवेशन विधानविपरीत रहेको पनि दाबी गरिन् ।

‘विशेष महाधिवेशन भनेर जुन नाम दिइयो, त्यो वैधानिक छैन । विधानविपरीत छ । केन्द्रीय समितिले नबोलाई त्यो विशेष महाधिवेशन नै भएन । विशेष महाधिवेशनको आह्वान नै गलत हो । केन्द्रीय कार्यसमितिले बोलाउने हो त्यो, एक जना व्यक्तिले बोलाउने होइन । विधान महाधिवेशनले गर्ने कार्यको कार्यविधि केन्द्रीय समितिले बोलाउनुपर्थ्यो,’– उनले भनिन् ।

नेतृ खतिवडाले विशेष महाधिवेशन पक्षधरले मिडिया कब्जा गरेको, मिडियामा पैसाको खोलो बगाएको आरोप लगाईन् । उनले गगनलाई आफूहरु पार्टी सभापति स्वीकार गर्न तयार नरहेको बताईन् । गगनले पूर्व सभापति शेरबहादुर देउवालाई भेट्न गएको कुरामा पनि सत्यता नरहेको उनको भनाइ छ । ‘उहाँहरु जानुभएको छैन । मिडियामा भ्रामक समाचार सम्प्रेषण गरियो,’– उनले भनिन् ।