रास्वपाले डा.भट्टराईलाई भन्योः ‘हाम्रो अभिभावक तपाईँ’, गोरखा २ मा चुनावी तालमेलको सम्भावना


काठमाडौं, ५ माघ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले कहिल्यै पनि सत्तामुखी राजनीति नगरेको बताएका छन् । गोरखा बजारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले रुपान्तरणकारी र सेवाको राजनीति गरेको बताएका हुन् । आवश्यक पर्दाखेरी आफूले जुनसुकै अवस्थामा पनि राजनीतिक योगदान गर्ने उनले बताए ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने घोषणा गरेका छन् । उनले कर्तव्यबोधले आफूलाई जोखिमपूर्ण निर्वाचन लड्न बाध्य बनाएको पनि बताए । उनले आफ्नो हार जित ठूलो कुरा नरहेको बताए । जुनसुकै दलमा भए पनि गोरखाली जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

नेता डा.भट्टराईले आफूलाई गोखरा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहयोग पनि रहन सक्ने बताए । रास्वपाका नेताहरुले ‘हाम्रो अभिभावक तपाईँ हो’ भन्दै आएको पनि उनले सुनाए । सहयोगबारे पछिल्लो समय रास्वपाका नेताहरुसँग कुरा भने नभएको उनको भनाइ छ । ‘रास्वपाका साथीहरुले हाम्रो अभिभावक तपाईँ नै हो भन्ने गर्नुहुन्थ्यो । तपाईँजस्तो अभिभावक प्रतिनिधिसभामा हुनुपर्छ भन्ने कुरा गर्नुभएको छ । मलाई त सबै पक्षका साथीहरुले सहयोग गर्नुहुन्छ जस्तो लाग्छ,’– उनले भने ।