लिस्बन, ५ माघ । कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न पोर्चुगलको राष्ट्रपति चुनावको पहिलो चरणमा आश्चर्यजनक रूपमा दोस्रो स्थान हासिल गर्दै आगामी फेब्रुअरीमा हुने दुईतर्फी रनअफमा स्थान बनाएका छन् । उनले केन्द्र–वामपन्थी उम्मेद्वार एन्टोनियो जोसे सेगुरोसँग प्रतिस्पर्धा गर्नेछन्, जसलाई युरोपभर बढ्दै गएको अति–दक्षिणपन्थी राजनीतिक प्रवृत्तिको अर्को महत्त्वपूर्ण सफलता मानिएको छ ।
झण्डै ९८ प्रतिशत मतगणना सकिँदा चेगा (इनफ) पार्टीका नेता भेन्टुराले करिब २४ प्रतिशत मत प्राप्त गरे भने समाजवादी उम्मेद्वार सेगुरोले करिब ३१ प्रतिशत मतसहित अग्रता कायम गरे । अब फेब्रुअरी ८ मा शीर्ष दुई उम्मेद्वारबीच दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणमा नौ जना उम्मेद्वार प्रतिस्पर्धामा रहे पनि कसैले पनि प्रत्यक्ष जितका लागि आवश्यक ५० प्रतिशत मत हासिल गर्न सकेनन् ।
भेन्टुराको बलियो उपस्थितिलाई युरोपमा अति–दक्षिणतर्फको राजनीतिक झुकावको अर्को कोसेढुङ्गाका रूपमा हेरिएको छ । चेगा पार्टी स्थापना भएको करिब छ वर्षमै गत वर्ष संसद्को दोस्रो ठूलो दल बनेको थियो । फ्रान्स, जर्मनी, इटाली र छिमेकी स्पेनमा उदीयमान राष्ट्रवादी दलहरूको सफलताबाट भेन्टुरा र उनका समर्थकहरू उत्साहित देखिन्छन् ।
उनको चुनावी एजेन्डाको केन्द्रमा आप्रवासन छ । भेन्टुराले यसलाई ‘अत्यधिक आप्रवासन’ को संज्ञा दिँदै ‘पोर्चुगल हाम्रो हो’ भन्ने नारासहित कडा अभिव्यक्ति दिएका छन् । अभियानका क्रममा उनले ‘यो बङ्गलादेश होइन’ र ‘आप्रवासीहरूलाई कल्याणमा बाँच्न दिनुहुँदैन’ भन्ने सन्देश भएका विज्ञापनहरू प्रयोग गरेका थिए । केही वर्षअघि पोर्चुगलमा यस्ता खुलेर आप्रवासी विरोधी भनाइ अकल्पनीय मानिन्थे ।
उनको उदयले विगत पाँच दशकदेखि सत्तामा आएका दुई मुख्य दल—हाल सत्तारूढ केन्द्र–दक्षिणपन्थी सोसल डेमोक्रेटिक पार्टी र केन्द्र–वाम समाजवादी पार्टी—को परम्परागत समर्थन कटौती गरेको छ । यसपटकको चुनावमा उम्मेद्वारमध्ये एक जना मात्र महिला थिए र पोर्चुगलले अहिलेसम्म महिला वा गैर–श्वेत राष्ट्रप्रमुख पाएको छैन ।
आगामी राष्ट्रपतिका लागि देशको राजनीतिक स्थिरता ठूलो चुनौती हुनेछ । गत मे महिनामा पोर्चुगलले तीन वर्षभित्र तेस्रो आम चुनाव सम्पन्न गरेको थियो, जुन दशकौँकै सबैभन्दा अस्थिर राजनीतिक अवस्थामध्ये एक मानिन्छ । यद्यपि भेन्टुराले आप्रवासनलाई मुख्य मुद्दा बनाउन खोजेको भए पनि धेरै मतदाताहरू आवास सङ्कट र जीवनयापनको बढ्दो लागतप्रति बढी चिन्तित देखिन्छन् ।
यसबीच, संसद्ले सन् २०२२ मा अनुमोदन गरे पनि संवैधानिक आपत्तिका कारण स्थगित भएको इच्छामृत्यु तथा चिकित्सकको सहयोगमा आत्महत्यासम्बन्धी कानून पनि नयाँ राष्ट्रपतिका लागि महत्त्वपूर्ण विषय बन्न सक्नेछ ।
पोर्चुगलमा राष्ट्रपति प्रायः औपचारिक भूमिकामा रहन्छन् । उनको मुख्य जिम्मेवारी राजनीतिक द्वन्द्वभन्दा माथि रहँदै मध्यस्थता गर्नु र तनाव कम गर्नु हो । तथापि, राष्ट्रपतिसँग संसद्बाट पारित कानूनमा भिटो लगाउने अधिकार छ, यद्यपि संसद्ले त्यसलाई उल्ट्याउन सक्छ । साथै संसद् विघटन गरी चाँडो चुनाव आह्वान गर्ने अधिकार—जसलाई यहाँको राजनीतिक भाषामा ‘आणविक बम’ भनिन्छ—समेत राष्ट्रपतिसँग सुरक्षित छ ।
युरोपेली सङ्घ (इयु) को समग्र दिशामा पोर्चुगलको राष्ट्रपतिको निर्णयले सीमित प्रभाव पार्ने मानिन्छ, किनकि यो देश इयुका साना अर्थतन्त्रहरूमध्ये एक हो र यसको सशस्त्र बल पनि मध्यम आकारका छन् । अब फेब्रुअरी ८ मा हुने रनअफले लिस्बनस्थित राष्ट्रपतिको नदी किनारको ‘गुलाबी दरबार’ मा आगामी पाँच वर्षका लागि को बस्ने भन्ने अन्तिम निर्णय गर्नेछ । रासस




प्रतिक्रिया