स्पेनमा उच्चगति रेल दुर्घटना, २१ जनाको मृत्यु


अदामुज (स्पेन), ५ माघ । दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले उद्धार कार्य सम्पन्न भइसकेको र मृतक सङ्ख्या मध्यरातपछि २१ पुगेको जानकारी दिएका छन् । यद्यपि अझै पुष्टि हुन बाँकी पीडित हुनसक्ने सम्भावना रहेको उनले बताए ।

रेल अपरेटर आदिफका अनुसार करिब ३०० यात्रु बोकेको रेल साँझ ७ः४५ बजे मालागाबाट म्याड्रिडतर्फ जाँदै गर्दा कोर्डोबा नजिकै अचानक पटरीबाट हटेको थियो । सो रेलको पछाडिको भाग उफ्रेर विपरीत दिशाबाट म्याड्रिडदेखि दक्षिणी सहर हुवेल्भातर्फ आइरहेको करिब २०० यात्रु बोकेको अर्को उच्चगतिको रेलसँग ठोक्किएको थियो ।

अन्डालुसिया क्षेत्रीय राष्ट्रपति जुआन म्यानुएल मोरेनोले ७५ यात्रुलाई अस्पताल भर्ना गरिएको जानकारी दिए । तीमध्ये धेरैलाई कोर्डोबा लगिएको छ र कम्तीमा १५ जना गम्भीर घाइते छन् । स्पेनिस रेड क्रसले दुर्घटनास्थल नजिकैको आदामुज सहरमा सहायता केन्द्र स्थापना गरी आपतकालीन सेवाहरू र आफन्तको खोजीमा रहेका मानिसहरूलाई सहयोग गरिरहेको छ । सिभिल गार्ड, सिभिल डिफेन्स तथा अन्य उद्धार टोलीहरू चिसो र स्पष्ट रातभर भग्नावशेष हटाउने कार्यमा खटिएका छन् । घटनास्थलमा आपतकालीन सेवाबाहेक अरूलाई प्रवेश निषेध गरिएको थियो ।

क्षेत्रीय स्वास्थ्य प्रमुख एन्टोनियो सान्जले ‘हाम्रो अगाडि निकै कठिन रात छ’ भन्दै उद्धारकर्मीहरूले रातभर शव निकाल्ने कार्य जारी राख्ने बताए ।

यातायातमन्त्री पुएन्टेले दुर्घटनाको कारण तत्काल पत्ता नलागेको र यसलाई ‘साँच्चै अनौठो’ घटना बताए । उनका अनुसार दुर्घटना मे महिनामै मर्मत गरिएको ट्र्याकको समतल भागमा भएको थियो । पटरीबाट खसेको रेल चार वर्षभन्दा कम पुरानो रहेको र निजी कम्पनी इरिओको भएको उनले जानकारी दिए । ठोक्किएको दोस्रो रेल भने सार्वजनिक रेल कम्पनी रेन्फेको थियो । इरिओले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अधिकारीहरूसँग सहकार्य गरिरहेको जनाएको छ ।

पुएन्टेका अनुसार पहिलो रेलको पछाडिको भाग उफ्रेर दोस्रो रेलको अगाडिको भागमा ठोक्किएको थियो, जसका कारण रेन्फे रेलका पहिलो दुई डब्बा ट्र्याकबाट करिब चार मिटर तल ढलानतर्फ खसेका थिए । सबैभन्दा ठूलो क्षति रेन्फे रेलको अगाडिको भागमा भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धानमा करिब एक महिना लाग्नसक्ने उनले बताए ।

दुर्घटनामा परेको एउटा रेलमा सवार स्पेनिस प्रसारक आरटिभीईका पत्रकार साल्भाडोर जिमेनेजले ‘एक क्षण भूकम्प जस्तो महसुस भयो र रेल साँच्चै पटरीबाट खस्यो’ भनेर अनुभव सुनाए । उनका अनुसार यात्रुहरूले आपतकालीन हथौडा प्रयोग गरी झ्याल तोडेका थिए र धेरैले आफूलाई बाहिर निकाल्न सफल भएका थिए । घटनास्थलका भिडियोहरूमा मानिसहरू झुकेका डब्बाबाट झ्याल हुँदै बाहिर निस्किरहेको दृश्य देखिन्छ ।

दुर्घटना साँझको समयमा आदामुज गाउँ नजिकै भएको र अन्धकारमै सयौँ यात्रुको उद्धार गर्नुपरेको थियो । कोर्डोबाका फायर फाइटर प्रमुख फ्रान्सिस्को कार्मोनाले कम्तीमा चारवटा डब्बा रेलबाट टाढा खसेको जानकारी दिए । क्षेत्रीय नागरिक सुरक्षा प्रमुख मारिया बेलेन मोया रोजासले दुर्घटनास्थल पुग्न गाह्रो क्षेत्रमा रहेको र स्थानीय बासिन्दाहरूले कम्बल तथा पानी लिएर सहयोग गरेको बताए । स्पेनको सैन्य आपतकालीन राहत एकाइहरू पनि उद्धारमा खटिएका थिए ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमार्फत ‘आज रात हाम्रो देशका लागि गहिरो दुःखको रात हो’ भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । राजा फेलिप छैटौँ र रानी लेटिजियाले पनि शोक सन्देश दिएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले कोर्डोबाबाट आएको ‘भयानक समाचार’ ले आफूलाई स्तब्ध बनाएको बताउँदै स्पेनप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।

युरोपेली सङ्घ (इयु) का अनुसार स्पेनसँग तीन हजार १०० किलोमिटर लामो उच्चगति रेल सञ्जाल छ, जुन युरोपमै सबैभन्दा ठूलो हो । सन् २०२४ मा मात्रै दुई करोड ५० लाखभन्दा बढी यात्रुले उच्चगति रेल प्रयोग गरेको रेन्फेले जनाएको छ । दुर्घटनापछि म्याड्रिड र अन्डालुसियाबीचको रेल सेवा सोमबार स्थगित गरिएको आदिफले जनाएको छ । यस शताब्दीको सबैभन्दा घातक रेल दुर्घटना भने सन् २०१३ मा भएको थियो, जसमा ८० जनाको मृत्यु भएको थियो । रासस