ताप्लेजुङबाट उम्मेदवार बन्न चाहन्थेँ, ओलीले नदिएपछि अब किचलो गर्दिनँः योगेश भट्टराई (भिडिओसहित)


काठमाडौं, ५ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य उम्मेदवार चयनमा विवेक नपुर्याएको बताएका छन् । भिडिओ सन्देश जारी गर्दै उनले १६५ वटा निर्वाचन क्षेत्रमध्ये केहीमा पुनर्विचार गर्न ओलीलाई आग्रह गरेका छन् ।

‘म हाम्रो पार्टी अध्यक्ष केपी ओलीलाई भन्न चाहन्छु– १६५ वटा निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा अहिले पनि उम्मेदवारहरुलाई मिलाउन सकिन्छ भने मिलाउनुस् । म अध्यक्षलाई यो हम्बल रिक्वेष्ट गर्न चाहन्छु । मैले मेरो लागि मागेको छैन,’– उनले भनेका छन् ।

साथै, उनले आफू ताप्लेजुङबाट उम्मेदवार बन्न चाहे पनि ओलीले नदिएको उल्लेख गरेका छन् । ओलीले अरुलाई नै उम्मेदवार बनाएर पठाएपछि अब आफू त्यसमा किचलो गर्ने पक्षमा नरहेको पनि बताए । ताप्लेजुङमा उम्मेदवार बनाइएको छितिज थेबेलाई देढताको साथ सहयोग गर्ने पनि उनले उल्लेख गरेका छन् ।

‘म स्पष्ट भइसकेँ कि ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ । तर, पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्नेवाला छैन । उहाँले जसलाई उम्मेदवार दिएर पठाउनुभएको छ, म त्यसमा दृढताको साथ अगाडि बढ्छु,’– उनले भनेका छन् ।

कतिपय ठाउँहरुमा नेताहरुमाथि न्याय भएन कि भन्ने गुनासो आइरहेको उनले बताए । स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरुको भावना नबुझिएको हो कि भन्ने कुरा सतहमा आएको उनले बताएका छन् । सचिवालय बैठकपछि पनि दर्जनौं ठाउँमा उम्मेदवार परिवर्तन गरिएको बताउँदै उनले अन्तिम अवसरमा पनि देशभरीका ७/८ वटा निर्वाचन क्षेत्रमा पार्टी कमजोर हुने हो कि भन्ने आशंका पैदा भएको बताएका छन् ।

उनले अध्यक्ष अ‍ोलीलाई विशाल छाती बनाउन आग्रह गरेका छन् । यतिबेला महाधिवेशनमा मलाई सहयोग गर्यो कि गरेन भन्ने कुराको आधारमा अध्यक्ष ओली उभिन नहुने उनको धारणा रहेको छ । यतिबेला एमाले जित्छ कि जित्दैन भन्ने कुरालाई नै मिसन बनाउनुपर्ने उनले बताए ।