सरकारले मलाई जेल पुर्याए पनि अब चिन्ता छैन, किनकी देशले बालेन पाएको छः रवि लामिछाने


काठमाडौं, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले लगाएको मुद्दाले आफूलाई जेल पुर्याए पनि कुनै चिन्ता नरहेको बताएका छन् । आज (सोमबार) जनकपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सरकारले झुठा मुद्दा लगाएर जेल पुर्याए पनि अब देशले बालेन पाइसकेको बताए ।

‘अपदस्थ भएको, हेलिकोप्टरबाट भागेको, बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले मलाई कुनै दिन जेल पुर्याउला । मलाई अब चिन्ता छैन । किनकी देशले बालेन पाएको छ,’– उनले भने ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित गर्दै उनले बच्चालाई छाती र टाउकोमा गोली हानेको सरकारले आफूलाई गरेको अन्यायको कुनै हिसाब नरहेको पनि उनले बताए । तर, देशलाई र मधेशलाई गरेको अन्यायको हिसाब लिने बेला आएको उनले बताए ।

उनले देश बन्छ भन्ने सपनाको विजारोपण गर्ने बालेन्द्र शाहले काठमाडौं महानगरपालिकामा एउटा प्रकाशकीय अधिकृत माग्दा पनि नपाएको उल्लेख गर्दै उनले अब प्रशासकीय अधिकृतमात्रै नभएर तिनीहरुको सत्ता फेर्ने उनले बताए ।

‘यो देश बन्छ भन्ने सपनाको विजारोपण गर्ने बालेन्द्र शाहले एउटा प्रशासकीय अधिकृत माग्दा पाएनन् । अब प्रशासकीय अधिकृत होइन,तिम्रो सत्ता फेर्ने हो । जनताको सत्ता स्थापित गर्ने हो,’– उनले भने ।