मधेश पुगेर बालेनले मागे रास्वपाको पक्षमा बहुमत, देशको सेवा गर्ने अवसर दिन अपिल

‘म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्’


काठमाडौं, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गरेका छन् । रास्वपाद्वारा आयोजित परिर्वतन उद्घोषसभामा उनले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेश र देशको सेवा गर्ने अवसर दिन अपिल गरे ।

वरिष्ठ नेता शाहले आफूहरूलाई प्रतिनिधिसभामा विजयी गराएमा देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी गरे । उनले आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राखे ।

‘म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस् । काठमाडौं महानगर प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचन गरेमा मधेशमा पनि काम गर्ने छु, यो मेरो प्रतिज्ञा हो,’– नेता शाहले भने ।

उनले मधेश प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको बताए । ‘यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हुँदा गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ,’– उनले भने,‘म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौँ जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु । हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौँ ।’