काठमाडौं, ७ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का आधिकारिक उम्मेदवारविरुद्ध देशभर ४ स्थानमा बागी उम्मेदवारी दर्ता भएको छ । नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएकोमा ४ स्थानमा बागी उम्मेदवारी परेको हो ।
सिन्धुली–२ मा नेकपाले लेखनाथ दाहाल (राजन) लाई उम्मेदवार बनाएको थियो । लेखनाथविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन्।
त्यस्तै, दाङ–१ मा नेकपाले का मेटमणि चौधरीलाई आधिकारिक उम्मेदवार बनाएको थियो । चौधरीविरु पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट साबिक एकीकृत समाजवादी उपमहासचिव चौधरीलाई टिकट दिने कि केसीलाई दिने भन्ने विषयमा निकै ठूलो विवाद भएको थियो ।
त्यसैगरी, कर्णाली प्रदेशको कालीकोट–१ मा जीवन बुढाले पार्टीका अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । यसै क्षेत्रमा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि चुनावी मैदानमा छन् ।
उदयपुर क्षेत्र नम्बर २ मा पनि नेकपाका उम्मेदवार सुरेश कुमार राईविरुद्ध मेजर राईले बागी उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा बागी उम्मेदवारी दर्ता नभएको बताइएको छ ।
बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउने विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालबीच संवाद भइरहेको बताइएको छ । बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा पार्टीको आधिकारिक उम्मेदवारलाई जित निकाल्न अप्ठ्यारो पर्ने आँकलन गरिएको छ ।




प्रतिक्रिया