प्रचण्डलाई ‘टुरिष्ट’ को संज्ञा दिँदै जनार्दनले भने, ‘मैले तयार गरेको आधारभूमि पूर्वी रुकुममा भ्रम बाँड्न पर्दैन’


काठमाडौं, ७ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘राजनीतिक पर्यटनका यात्री’ को संज्ञा दिएका छन् । उनले प्रचण्डलाई आफू कति पनि विचलित नरहेको र आफूले तयार गरेको आधारभूमि रुकुम पूर्वका जनतामा भ्रम नबाँड्न प्रचण्डलाई चेतावनी दिए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) मा अन्य थुप्रै कम्युनिष्ट घटकहरुको मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दाखेरी जनार्दनले छुट्टै पार्टी बनाएर प्रचण्डसँग अलगिएका थिए । जनार्दन प्रचण्डले सुरु गरेको १० वर्षे जनयुद्धका सैन्य कमाण्डरसमेत थिए ।

‘जनार्दनले तयार पारेको आधारभूमि पूर्वी रुकुममा आउने राजनीतिक पर्यटनका यात्रीलाई म के भन्न चाहन्छु भने– जनार्दन विचलित छैन । विचलित को छ भन्ने कुरा जेन–जी आन्दोलनपछि देखिएको खरानीको थुप्रोले स्पष्ट भएको छ । अब भ्रम बाँड्न पर्दैन, जनार्दन जुनसुकै कसीमा जाँचिन तयार छ,’– उनले भने ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डले पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका छन् । जनार्दनले भने आफ्नै गृहजिल्ला पश्चिम रुकुमबाट मनोनयन दर्ता गराएका छन् । पश्चिम रुकुममा जनार्दनको प्रतिस्पर्धीको रुपमा नेकपाले गोपाल शर्मा ‘अनल’ लाई उम्मेदवार बनाएको छ ।