काठमाडौं, ७ माघ । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चन्द्रकान्त राउत र शतिस कुमार सिंह आमनेसामने भएका छन् । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । एक महिना अगाडि मात्रै जनमत पार्टी छाडेका पूर्व मुख्यमन्त्री सिंहले पनि सोही क्षेत्रबाट मनोनयन दर्ता गराएका छन् । सिंहले नेकपा (एमाले) बाट टिकट लिएर मनोनयन दर्ता गराएका हुन् ।
सिंहलाई जनमतबाट राउतले नै मुख्यमन्त्री बनाएका थिए । गत २०७९ को आम निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले हराएका राउतलाई यसपटक भने केही महिना अगाडिसम्म आफ्नै सहयात्री रहेका सिंहले चुनौति दिइरहेका छन् ।
गत निर्वाचनमा राउत सो क्षेत्रबाट ३५ हजार ४२ मत पाएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी जसपा नेपालका अध्यक्ष यादवले १६ हजार ९ सय ७९ मत पाएर उपविजेता बनेका थिए ।
समानुपातिकतर्फ भने सो क्षेत्रमा ०७९ मा जनमतले २९ हजार ८ सय २ मत पाएको थियो । एमालेको समानुपातिकतर्फको मत भने निकै कम छ ।




प्रतिक्रिया