महामन्त्री बुर्लाकोटीमाथि टिकट वितरणलाई कमाउँ धन्दा बनाएको आरोप, भोट दिनुको सट्टा गाउँगाउँबाट लखेट्न रास्वपा नेता पाण्डेको आग्रह


काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पाण्डे कर्णालीमा रास्वपामा स्थापनाकालदेखि नै सक्रिय नेता हुन् । उनको स्थायी घर हुम्ला हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले टिकट वितरणलाई कमाउँ धन्दा बनाएको आरोप लगाउँदै उनले पार्टी परित्यागष् गरे ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाका उम्मेदवार रहेका बुर्लाकोटीलाई भोट दिनुको सट्टा गाउँगाउँबाट लखेट्न उनले आग्रह गरे । ‘रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविश्य नरहेको पाण्डेले बताए । बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिलाई कमाउँ धन्दा बनाएको उनको आरोप छ ।

रास्वपाले मोटो रकम दिन सक्नेलाई मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट दिएको र रास्वपा हुनेखानेहरुको मात्रै पार्टी रहेको उनले आरोप लगाए । ‘कविन्द्र बुर्लाकोटीजस्ता पापीलाई गाउँगाउँबाट लखेट्नुहोला र इमान्दार उम्मेदवारलाई भोट हाल्नुहोला,’– उनले भने ।

साथै, रास्वपाका सभापति रवि लामिछानेलाई स्वार्थी र गलत नियत भएका व्यक्तिहरुले घेराबन्दी गरिसकेको नेता पाण्डेको दाबी छ । उनले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्न सभापति लामिछानेलाई आग्रह गरे ।