काठमाडौं, १० माघ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले एक सयभन्दा बढी सिट जित्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले प्रत्यक्षमा ६५ र समानुपातिकतर्फ ३५ देखि ४० सिट कांग्रेसले जित्ने दाबी गरेका हुन् । ‘एक सय प्लस सिट र पपुलर मत ल्याउँछौं । प्रत्यक्षमा ६५ र समानुपातिकमा ३५ देखि ४० सम्म सिट हामी ल्याउँछौं,’– उनले भने ।
उनले आजको दिनमा नेपाली कांग्रेस एकढिक्का रहेको बताए । कांग्रेस बागमती प्रदेशको सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँले पार्टीभित्र कुनै पनि प्रकारको विवाद नरहेको बताए । पूर्व पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नका लागि टिकट नपाएको भन्दा पनि नलिएको उनको बुझाइ रहेको छ ।
यसपटक भने पार्टी सभापति गगन कुमार थापाले देशको १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर पार्टीलाई न्याय गरेको उनले बताए । यसपटकको निर्वाचनमा कांग्रेसले पार्टीका उम्मेदवारमाथि अन्तरघात नगर्ने उनले बताए । देश, पार्टी, राष्ट्रिता र स्वाधीनताको लागि कांग्रेसले कुनै पनि प्रकारको कम्परमाइज नगर्ने उनले बताए ।
उनले पार्टी सभापति देउवालाई धैर्य, निडर, समस्या झेल्न सक्ने र आलोचना सुन्न सक्ने नेताको रुपमा चित्रण गरे । उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टी सभापति गगन कुमार थापा प्रधानमन्त्री बन्नेमा दुईमत नरहेको बताए । गगनलाई कांग्रेस र नेपाली जनताले पत्याउने उनको दाबी छ । ‘कांग्रेसभित्र नयाँ उर्जा र एकताको सन्देश गएको छ । जनताले र कांग्रेसले गगन थापालाई पत्याउँछन्,’– उनले भने ।




प्रतिक्रिया