प्रचण्डको कारण पार्टी कमजोर भयो, उनलाई नेकपाबाट निष्कासन गर्नुपर्छः हरिबोल गजुरेल


काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निष्कासनमा परेका नेता हरिबोल गजुरेले सबैभन्दा पहिला पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् । नेकपाले नेता गजुरेलसहित ७ जनालाई कारबाही गरेपछि रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले विधि, पद्धति नमानेकै कारण पार्टी कमजोर भएको बताए ।

‘अब निष्कासन चाहिँ प्रचण्डलाई नै गर्नुपर्छ । पहिलो माग मेरो के हो भने– यो पार्टीलाई अहिले यति कमजोर बनाएर अहिले यो हालतमा पुर्याउने प्रचण्डकै कारणले भएको हो । प्रचण्डलाई कारबाही गर्नुपर्छ, यो पार्टीबाट हटाउनुपर्छ । नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा अढाइ वर्ष अगाडिदेखि नै भन्दै आएको कुरा हो,’– उनले भने ।

नेता गजुरेलले प्रचण्डले विधि पद्धतिको उल्लङ्घन गरेको, पार्टीको विधि, पद्धतिभन्दा बाहिर गएर निर्णय लादेको, तलबाट सिफारिस भएर आएका उम्मेदवारलाई प्राथमिकता नदिएको बताए । नेता गजुरेलका अनुसार सिन्धुली–१ बाट लेखनाथ दाहाल (राजन) को नाम पहिलो नम्बरमा सिफारिस भएर आएको थियो । सिन्धुली १ मा डकेन्द्र सुवेदीलाई उम्मेदवार बनाएर क्षेत्र नम्बर २ मा राजनलाई पठाउँदा अहिलेको समस्या आइपरेको हो ।