तीन दिनदेखि बेपत्ता प्रहरी जवान जङ्गलमा मृत फेला


काठमाडौं, ११ माघ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान जिसी तीन दिनदेखि बेपत्ता थिए । उनी घोराही–१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी माघ ८ गते विहानको ड्युटी कसेर कार्यालयबाट निस्किएका थिए । कार्यालयबाट निस्किएलगत्तै सम्पर्कविहीन बनेका जिसी झुण्डिएको अवस्थामा आज (आइतबार) फेला परेका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक जिसीको मोबाइल लक भएको कारण घटनाको बारेमा थप भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । मोवाइलको लक खुल्नेवित्तिकै नयाँ तथ्य फेला पर्न सक्ने प्रहरीले बताएको छ ।