काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री मनोजमणि आचार्यले नेपालले छिमेकी देशहरू भारत र चीनसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासशील देशले दुवै छिमेकी विकसित मुलुकबाट अधिकतम फाइदा लिन सक्नुपर्नेमा जोड दिएका हुन्।
परराष्ट्र नीतिका सन्दर्भमा स्पष्ट धारणा राख्दै सहमहामन्त्री आचार्यले असंलग्न परराष्ट्र नीति नै नेपालका लागि सर्वोत्तम नीति भएको बताए। उनले छिमेकीहरूसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने औंल्याए।
‘नेपाल कसैको पनि उपनिवेश बनेन। छिमेकी देश भारत र चीनसँग मिलेर जाने हो। असंलग्न परराष्ट्र नीति नै हाम्रो उत्तम नीति हो,’ आचार्यले भने, ‘भारतको नेतृत्वलाई खुसी बनाउने र त्यहाँबाट हामी खुसी भएर फर्किने होइन।’
सहमहामन्त्री आचार्यले भोटेकोशी र बूढीगण्डकीको बाढीबाट गतिलो पाठ सिक्नुपर्ने बताए। विपद् जोखिम न्यूनीकरणका लागि सरकार, राजनीतिक दलहरू र सम्बन्धित निकायहरूले गम्भीर भएर योजना बनाउनुपर्ने उनको भनाइ थियो।
‘भोटेकोशी र बूढीगण्डकी बाढीबाट पाठ सिकेर बस्ती विकासका विषयमा सरकारसँगै सबै दलहरू र सरोकारवाला निकायले गम्भीर ढंगले सोच्नुपर्छ,’ उनले भने।
यसैबीच, सदनमा नेपाली कांग्रेसको भूमिकाबारे बोल्दै उनले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे। देशलाई समृद्धिको बाटोमा डोर्याउन कांग्रेस रूपान्तरित भएर अघि बढिरहेको उनको भनाइ थियो।
‘कांग्रेसले सदनमा प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गरेको छ,’ सहमहामन्त्री आचार्यले भने, ‘समुन्नत नेपाल निर्माणको यात्रामा १५ औँ महाधिवेशनपछि कांग्रेस बदलिएर आएको छ।





प्रतिक्रिया