भारतको तेलङ्गानामा आगलागी: ५ जनाको मृत्यु


नयाँ दिल्ली, ११ माघ । भारतको दक्षिणी राज्य तेलङ्गानामा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ । घटना हैदराबादको नम्पली क्षेत्रमा शनिबार बिहान भएको थियो, जहाँ आगो लागेको पसलभित्र केही मानिस फसेका थिए ।

स्थानीय प्रहरीले सञ्चार माध्यमलाई जानकारी दिँदै सबै मृतकका शव उद्धार गरिएको पुष्टि गरेको छ। मृतकमध्ये दुई जना बालबालिका रहेका छन्। आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान जारी छ ।

तेलङ्गानाको अग्निशमन विभागका महानिर्देशक विक्रम सिंह मानले घटनालाई लापरबाहीपूर्ण र गैरजिम्मेवार व्यवहारको नतिजा भएको भन्दै पसल मालिकविरुद्ध आपराधिक दायित्व अनुसार कारबाही गरिने बताएका छन् ।

आगलागी नियन्त्रणका लागि अग्निशमन टोली, स्थानीय प्रहरी र उद्धारकर्मीहरूले संयुक्त प्रयास गरेका थिए। आगो ठूलो भएकोले घटनास्थलमा क्षति व्यापक भएको छ ।

आगलागीको घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रको निरीक्षण गर्दै सुरक्षा उपाय कडा बनाउने निर्णय गरेको छ। यो घटना तेलङ्गानामा व्यापारिक क्षेत्र र आवासीय क्षेत्रसँग नजिक भएकोले समुदायमा डर र चिन्ता फैलाएको छ । रासस