मन्त्रीबाट राजीनामाबारे महावीरको प्रष्टोक्तिः ‘त्यहाँ बसेर गर्न खोजेको काम भएन भने किन बस्ने ?’


काठमाडौं, ११ माघ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गर्न खोजेको काम गर्न नपाएपछि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । म्याग्दीको बेनीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्री पुनले आफूले धोका दिनलाई नभएर धोका दिनका लागि मन्त्री पद छाडेको बताएका हुन् । ‘धोका दिनलाई होइन, धोका नदिनका लागि छोडेको हो । त्यहाँ बसेर गर्न खोजेको काम भएन भने किन बस्ने ?’ प्रश्न गर्दै उनले भने ।

उनले आफू मन्त्री भएको बेलामा विद्यालय व्यवस्थापन समिति स्वच्छ बनाउने, व्यवस्थापन समितिमा राजनीतिक प्रभावको अन्त्य गर्ने, शिक्षकहरुको सरुवाको क्रममा हुने आर्थिक चलखेल रोक्ने र प्रधानाध्यापकको नियुक्ति गर्दा योग्य व्यक्ति नियुक्त गरिनुपर्ने खाका ल्याएको बताए । तर, ती काम गर्नका लागि सहयोग नपाएपछि राजीनामा दिनुपरेको उनको भनाइ छ ।

जोसुकैले जेसुकै भने पनि आफूलाई केही फरक नपर्ने बताउँदै उनले आफू नभागेको र धोका नदिएको प्रष्ट पारे । उनले बरु आफैंले धोका पाएपछि पदबाट राजीनामा दिनुपरेको बताए । आफूले काम नगरेको खण्डमा मात्रै जनतामा धोका हुने उनले बताए । उनले बाहिर बसेर काम गर्नका लागि गाह्रो देखेर सांसद बनेर संसद् छिर्न लागेको बताए । उनले भने, ‘बाहिर बसेर काम गर्न गाह्रो छ, अब भित्रै छिर्ने हुँडलहाँडल गर्ने । त्यसैले म सांसद उठेको हो ।’

‘स्वतन्त्र भएर एक जना व्यक्तिले के गर्न सक्छ ? कुनै पार्टीमा लागेर बहुमतको सरकार बनाएर पो गर्नसक्छ’ भनेर केही मान्छेहरुले आफूलाई केही नजानेको जस्तोगरी सिकाइरहेको पनि उनले टिप्पणी गरे । आफू सिंहदरबारमा बहुलाहाजस्तो कराउनका लागि मात्रै नगएर राम्रा मान्छेहरुको टिम बनाउने उनले बताए । ‘म सिंहदरबारमा गएर बहुलाहाजस्तो कराएर बसौंला र ? म टिम बनाउँला नि । गतिलो मान्छेको टिम बनाउने हो । अनि गर्न खोजेको काम गर्ने हो,’– उनले भने ।