भिल्नियस, ११ माघ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार किएभका सयौँ भवनहरू तताउने व्यवस्था नभएको अवस्थामा थप हवाई रक्षा सहयोग मागेका छन् ।
रुसले चार वर्ष लामो युद्धमा युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएको छ र युक्रेनका लागि यो जाडो अबसम्मकै सबैभन्दा कठिन रहेको छ । विशेष गरी तीव्र चिसोको समयमा सयौँ रूसी ड्रोन र मिसाइलहरूले हवाई सुरक्षामा ठूलो दबाब पुर्याएको छ ।
“यस हप्तामात्र रुसीहरूले एक हजार ७०० भन्दा बढी आक्रमणकारी ड्रोन, एक हजार ३८० भन्दा बढी निर्देशित हवाई बम र ६९ विभिन्न प्रकारका मिसाइल प्रक्षेपण गरेका छन्”, जेलेन्स्कीले भिल्नियस पुगेपछि भने, “त्यसैले हरेक दिन हवाई रक्षा प्रणालीका लागि मिसाइल आवश्यक छ र हामी हाम्रो आकाशको सुरक्षा सुनिश्चित गर्न संयुक्त राज्य अमेरिका र युरोपसँग सहकार्य गरिरहन्छौँ ।”
रुसी बमबारीले किएभमा ठूलो असर पारेको छ, जसले करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य पारेको छ । किएभका मेयर भिटाली क्लिट्स्कोले भने, “जनवरी २४ को आक्रमणपछि एक हजार ६७६ अग्ला अपार्टमेन्ट भवनहरू अहिले तताउने व्यवस्था बिना छन् ।”
चिसो तापक्रम र लगातारको हवाई आक्रमणले मर्मत कर्मचारीहरूको तताउने र बिजुली पुनःस्थापना गर्ने प्रयासलाई सुस्त पारेको छ ।
युद्ध अन्त्य गर्ने प्रयास अन्तर्गत वासिङ्टनमा रुस र युक्रेनबीच अमेरिकी मध्यस्थतामा वार्ता शनिबार सम्पन्न भए पनि कुनै स्पष्ट सफलता हासिल भएन । जेलेन्स्कीले वार्ता ‘रचनात्मक’ भएको र दुवै पक्ष अर्को हप्ता अबु धाबीमा पुनः भेट्ने सहमतिमा पुगेको बताए । रासस




प्रतिक्रिया