सिड्नी, ११ माघ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अफगानिस्तान युद्धमा गैर–अमेरिकी सेनाको भूमिकाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएका छन् । उनले ती टिप्पणीहरूले अस्ट्रेलियाली सैनिक र तिनका परिवारलाई गहिरो चोट पुगेको उल्लेख गरे ।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले नाटो देशहरूले ‘केही सेना’ पठाए पनि ती अग्रपङ्क्तिबाट टाढा बसेको टिप्पणी गरेका थिए । यसले युरोपेली देशहरूका साथै अस्ट्रेलियामा पनि तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ ।
आइतबार बिहान एबिसीको इनसाइडर्स कार्यक्रममा बोल्दै प्रधानमन्त्री अल्बानिजले अफगानिस्तानमा ज्यान गुमाएका ४७ अस्ट्रेलियाली सैनिकका परिवारप्रति गहिरो सम्मान व्यक्त गरे । “यी परिवारहरू हाम्रो पूर्ण सम्मान र कृतज्ञताका योग्य छन्”, उनले भने ।
उनले अफगानिस्तानमा सेवा गरेका करिब ४० हजार अस्ट्रेलियाली सैनिकहरूले लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्न अग्रपङ्क्तिमै रहेर बहादुरी देखाएको स्पष्ट पारे । “उनीहरू हाम्रा सबै सहयोगीहरूसँग काँधमा काँध मिलाएर लडेका थिए”, प्रधानमन्त्री अल्बानिजले जोड दिए ।
शनिबार बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको अभिव्यक्तिलाई ‘भयावह’ भनेपछि राष्ट्रपति ट्रम्पले आफ्नो धारणा केही हदसम्म संशोधन गरेको देखियो । उनले सामाजिक सञ्जालमार्फत बेलायती सैनिकहरूको साहस र अफगानिस्तानमा उनीहरूले दिएको बलिदानको प्रशंसा गरे ।
प्रधानमन्त्री अल्बानिजका अनुसार पछिल्ला टिप्पणीहरूमा राष्ट्रपति ट्रम्पले अस्ट्रेलियासहित सहयोगी राष्ट्रहरूको योगदान स्वीकार गरेको सङ्केत दिएका छन् । तर उनले प्रारम्भिक अभिव्यक्तिहरू भने ‘पूर्ण रूपमा उपयुक्त नभएको र अस्वीकार्य’ रहेको दोहोर्याए ।
यसैबीच प्रधानमन्त्री अल्बानिजले संयुक्त राज्य अमेरिकाका लागि अस्ट्रेलियाको नयाँ राजदूतका रूपमा ग्रेग मोरियार्टीको नाम सिफारिस गरेका छन् । यसअघि राजदूत केभिन रुडले तीन वर्षे कार्यकालपछि पद छोड्ने घोषणा गर्नुभएको थियो । रुड र ट्रम्पबीच विगतमा सार्वजनिक रूपमा चिसोपन देखिएको थियो ।
प्रधानमन्त्री अल्बनिजले मोरियार्टीलाई ‘उत्कृष्ट सार्वजनिक सेवक’ भन्दै आफ्नो निर्णयबारे ट्रम्प प्रशासनसँग परामर्श गरिएको जानकारी दिए । रासस




प्रतिक्रिया