राप्रपाको एजेण्डा भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्ति दिलाउनु होः कमल थापा (भिडिओसहित)


काठमाडौं, १२ माघ । पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको भ्रष्ट व्यवस्था र शासकको मुक्तिको निमित्त केवल पात्रमात्रै परिवर्तन गरेर नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले जनताको आमूल परिवर्तनको चाहनालाई परिपूर्ति गर्नका लागि व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले व्यवस्था परिवर्तन गरेर मुलुकमा राजसंस्था र हिन्दु राज्य ल्याउनका लागि आफूहरु जनताको बीचमा गइरहेको उनले बताए । जनताले चाहेको खण्डमा मुलुकमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न सकिने उनले बताए ।

‘जनाले अहिले परिवर्तन खोजिराखेका छन् । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजिराखेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना चाहिराखेका छन् । त्यसकारणले गर्दा जनताले चाहे भने नहुने कुरा छैन । हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना चाहने धेरै ठूलो जनमत छ,’– उनले भने ।

साथै, उनले राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्रका संवाहकहरुसँग गठबन्धन गरेर सरकारमा गएको जनतालाई चित्त नबुझेको उनले बताए । अब आफूहरु आफ्नो सिद्धान्तप्रति निष्ठावान रहदै आफ्नो एजेण्डाहरु स्थापित गर्न अगाडि बढ्ने उनले बताए ।

अहिलेको चुनावमा राप्रपाको एजेण्डा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्ति दिलाउने, हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने, देशमा सुशासन कायम गर्ने र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्ने आफूहरुको रोडम्याप रहेको उनले बताए । विगतमा आफूहरुलाई प्रतिगामी भनेर आरोप लगाउनेहरु नै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आइसकेको उनले बताए । एमाले, कांग्रेसलगायतका नेताहरुले नै राजसंस्था र हिन्दु राष्ट्रको कुरा गरिरहेको उल्लेख गर्दै उनले आफूहरुलाई प्रतिगामी भन्ने आरोप आउटडेटेड भइसकेको उनले बताए ।

उनले २० वर्षको अन्तरालमा संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता असफल भइसकेको उनले बताए । भ्रष्टाचारको महारोगबाट देश ग्रस्त भइराखेको, काण्डैकाण्डले देश आक्रान्त रहेको, बेरोजगारीको समस्या विकराल भएको, बाह्य शक्तिको चलखेल र प्रभाव तीब्र रुपमा बढेर गएको, राष्ट्रिय स्वाभीमान र स्वाधीनता खलबलिएको, देश धार्मिक द्वन्द्वमा फस्ने खतरा बढेको उनले बताए ।