युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा


लक्ष्मीपुर (बङ्गलादेश), १३ माघ  । युक्रेन युद्धमा बङ्गलादेशी कामदारहरूलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ । एपीले रुसबाट भाग्न सफल तीन जना बङ्गलादेशी पुरुष तथा अझै बेपत्ता रहेका अन्य तीन जनाका परिवारसँग गरेको अन्तर्वार्ताका आधारमा श्रम भर्तीकर्ताहरूले गरेको सङ्गठित छलकपटको विस्तृत तस्बिर प्रस्तुत गरेको हो ।

एपीका अनुसार मकसुदुर रहमान, मोहन मियाजी र जहाँगीर आलमले आफूहरूलाई खाना पकाउने, सरसफाइ गर्ने र लुगा धुनेजस्ता नागरिक कामको वाचा गरेर रुस लगिएको तर त्यहाँ पुगेपछि अनजानमै सैन्य सेवाको सम्झौतामा हस्ताक्षर गराइएको बताएका छन् । पछि उनीहरूलाई युक्रेन युद्धको अग्रपङ्क्तिमा आपूर्ति ढुवानी, घाइतेहरू उद्धार र शव सङ्कलनजस्ता अत्यन्त जोखिमपूर्ण काममा बाध्य पारिएको थियो ।

एपीले पठाएका प्रश्नहरूको औपचारिक जवाफ रुसी रक्षा मन्त्रालय तथा बङ्गलादेश सरकार दुवै तर्फबाट आएको छैन । तर एपीले प्राप्त गरेका भिसा, सैन्य सम्झौता र सेनासम्बन्धी कागजातहरूले यी कथनहरूलाई पुष्टि गरेका छन् ।

एपीको अनुसन्धानअनुसार बङ्गलादेशका गरिब समुदायमा सक्रिय श्रम एजेन्टहरूले सन् २०२४ को अन्त्यतिर पुरुषहरूलाई आकर्षक तलब र भविष्यमा रुसमा बसोबासको अवसरको आशा देखाउँदै प्रलोभनमा पारेका थिए । धेरैले एजेन्टलाई तिर्नुपर्ने शुल्क जुटाउन ऋण लिनु पर्‍यो वा सम्पत्ति बेच्नुपर्‍यो । उनीहरूले सजिलै कमाइ फिर्ता हुने विश्वास गरेका थिए ।

हाल युक्रेन युद्धमा कति बङ्गलादेशी लडिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । तर फर्केका ती तीन जनाले यो सङ्ख्या सयौँमा हुनसक्ने अनुमान गरेका छन् । एक बङ्गलादेशी प्रहरी अनुसन्धानकर्ताका अनुसार युद्धमा करिब ४० जना बङ्गलादेशीको ज्यान गएको हुनसक्ने आशङ्का छ ।

रुस पुगेपछि धेरैलाई उनीहरूले नबुझेको रुसी भाषामा लेखिएका सैन्य सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारिएको थियो । सुरुमा यो सामान्य प्रक्रिया हो भन्ने विश्वास दिलाइए पनि केही समयमै उनीहरूलाई सैनिक शिविरमा लगेर आधारभूत तालिम दिइयो । ड्रोनसम्बन्धी तालिमसमेत दिइएपछि उनीहरूलाई शङ्का पैदा भयो । परिवार र स्थानीय एजेन्टलाई सोध्दा युद्धग्रस्त देशमा यस्तो तालिम अनिवार्य भएको जवाफ दिइयो ।

जब अग्रपङ्क्तिमा पठाइने कुरा स्पष्ट भयो, केहीले विरोध गरे । तर जेल, कुटपिट र मृत्युसम्मको धम्की दिइएपछि उनीहरू आफू फसेको महसुस गर्न बाध्य भए । कतिपयलाई द्वन्द्वमा मानव ढालझैँ प्रयोग गरिएको अनुभव पनि रहेको उनीहरूको भनाइ छ ।

एपीले स्वेच्छाले सैन्य सेवामा साइन अप गरेका केही बङ्गलादेशीहरू पनि झूटा आश्वासनमा परेको उल्लेख गरेको छ । दुर्गम क्षेत्रमा ग्यास प्रशोधन केन्द्रमा काम गरिरहेका एकजना व्यक्तिलाई लडाइँबाट टाढाको प्राविधिक भूमिका दिने भनिए पनि अन्ततः उनलाई युक्रेनको युद्ध क्षेत्रमा पठाइयो । आदेश नमानेपछि उनले धम्की र कुटपिट सहनुपरेको र अन्ततः शव सङ्कलनको काम गर्न बाध्य पारिएको बताएका छन् ।

यसैबीच, बङ्गलादेशी अधिकारीहरूले युक्रेन युद्धमा लड्न मानिसहरू पठाउने मानव बेचबिखन सञ्जालको अनुसन्धान थालेका छन् । जनवरी २०२५ मा एक व्यक्ति रुसबाट फर्किएपछि आफू ठगिएको उजुरी दिएसँगै अनुसन्धान सुरु भएको थियो । यस क्रममा मस्कोमा बसोबास गर्ने रुसी नागरिकता लिएका एक बङ्गलादेशीमाथि समेत आरोप लागेको छ ।

एपीका अनुसार ती पुरुषहरूलाई एसपी ग्लोबल नामक स्थानीय भर्ती एजेन्सीमार्फत रुस पठाइएको थियो । हाल उक्त कम्पनी निष्क्रिय रहेको र सन् २०२५ मै यसको गतिविधि बन्द भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । कम्पनीले भने एपीको सम्पर्क प्रयासमा कुनै प्रतिक्रिया दिएको छैन । रासस