बेइजिङ, १३ माघ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोसँग भेटवार्ता गर्दै चीन संयुक्त राष्ट्रसङ्घमा आधारित विश्व व्यवस्थालाई दृढतापूर्वक कायम राख्न इच्छुक रहेको बताएका छन् ।
राष्ट्रपति सीको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना नयाँ ‘शान्ति बोर्ड’ स्थापना गर्ने योजना सार्वजनिक गरेपछि आएको हो । उक्त योजनाले संयुक्त राष्ट्रसङ्घको विकल्प वा प्रतिद्वन्द्वी संरचना सिर्जना हुनसक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा पैदा गरेको छ ।
बेइजिङस्थित भव्य ग्रेट हल अफ द पिपुलमा भएको भेटका क्रममा राष्ट्रपति सीले प्रधानमन्त्री ओर्पोसँग भने, “चीन संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रणालीलाई दृढतापूर्वक जोगाइराख्न फिनल्यान्डसँग मिलेर काम गर्न इच्छुक छ ।” चिनियाँ राज्य प्रसारणकर्ता सिसिटिभीले यो भनाइ सार्वजनिक गरेको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको नयाँ समूहमा चीनलाई पनि सामेल हुन आमन्त्रण गरिएको भए पनि बेइजिङले हालसम्म सहभागिताबारे औपचारिक पुष्टि गरेको छैन । यद्यपि, राष्ट्रपति सीले संयुक्त राष्ट्रसङ्घ–केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थाको महत्त्वमा जोड दिँदै आएको सन्देश यस भेटमार्फत पुनः स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओर्पोले पनि राष्ट्रपति सीसँग ‘अन्तर्राष्ट्रिय मुद्दाहरू’ तथा ‘द्विपक्षीय सहकार्य’ का विषयमा खुला र गहिरो छलफल गर्न इच्छुक रहेको बताएका थिए । उनी चार दिने औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका हुन् ।
प्रधानमन्त्री ओर्पो पछिल्ला दिनहरूमा बेइजिङ भ्रमण गर्ने पश्चिमी नेताहरूको शृङ्खलामा पर्छन् । अमेरिकी राष्ट्रपति ट्रम्पका अस्थिर र अप्रत्याशित नीतिहरूका कारण उनका परम्परागत सहयोगीहरूमा असहजता बढिरहेका बेला चीनतर्फ कूटनीतिक ध्यान केन्द्रित भएको देखिएको छ । हालै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि बेइजिङ भ्रमण गरेका थिए भने बेलायतका प्रधानमन्त्री किर स्टार्मर बुधबार यहाँ आइपुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि, मैत्रीपूर्ण प्रस्ताव र संवादका बावजुद बेइजिङ र हेलसिन्कीबीच केही संवेदनशील विषयमा मतभेद कायमै देखिन्छ । विशेष गरी युक्रेनमा रुसले थालेको युद्ध र आर्कटिक क्षेत्रमा प्रभाव विस्तारलाई लिएर दुवै देशका दृष्टिकोण समान छैनन् ।
फिनल्यान्डका रक्षामन्त्री एन्टी हक्कानेनले गत नोभेम्बरमा चीनले रुसको युद्ध प्रयासलाई ‘व्यापक रूपमा’ आर्थिक सहयोग गरिरहेको आरोप लगाएका थिए । चीन भने आफू युद्धमा तटस्थ रहेको दाबी गर्दै आएको छ र उसले मस्कोको युक्रेन आक्रमणको सार्वजनिक रूपमा कहिल्यै निन्दा गरेको छैन । चीन रुसको प्रमुख व्यापारिक साझेदारमध्ये एक पनि हो ।
यसैबीच नाटोका महासचिव मार्क रुटले रुस र चीनको बढ्दो गतिविधि तथा प्रभावलाई ध्यानमा राख्दै फिनल्यान्डसहित अन्य आर्कटिक राष्ट्रहरूको सुरक्षाका लागि सामूहिक रक्षा रणनीति निर्माण गर्न आह्वान गरेका छन् । रासस




प्रतिक्रिया