काठमाडौं, १३ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग भएको चुनावी गठबन्धन भङ्ग गरेका छन् । एमाले रुकुम पूर्वले उक्त सहमति अस्वीकार गरेपछि ओलीले आफ्नै उम्मेदवारलाई जिल्ला गएर चुनावी प्रचार प्रसारमा लाग्न र जितेर आउन शुभकामना दिएका हुन् ।
दई दिनअघि एमालेले रुकुम पश्चिममा नेता जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने र दाङ, रोल्पा, प्यूठानसहित कर्णालीका ७ जिल्लामा प्रलोपाले एमालेलाई समर्थन गर्ने सहमति भएको थियो । तर, एमाले रुकुम पूर्वमा उम्मेदवार बनेका लीलामणि गौतमले अध्यक्ष ओलीलाई नै भेटेर त्यो क्षेत्र छाड्न नसकिने बताएपछि ओलीले सहमति तोडेका हुन् ।
.ओलीसँगको भेटको भिडियो सामाजिक सञ्जालमा राख्दै एमाले रुकुम पूर्वका उम्मेदवार गौतमले भनेका छन्, आदरणीय रुकुम पूर्वका मतदाता ज्यूहरु नमस्कार । केही दिन यता रुकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आज देखि स्पष्ट भएको छ । रुकुम पूर्वमा ढुक्कसंग सुर्य चिन्हमा मतदान गर्न पाईन्छ आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौं । अध्यक्ष कमरेड केपी शर्मा ओलीको लेटेस्ट निर्देशन प्राप्त भएको छ ।
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् । केही समयअघि प्रलोपाका नेता जनार्दन शर्माले एमाले अध्यक्ष ओलीलाई भेटेर रुकुम पूर्व, रुकुम पश्चिमलगायतका चुनावी क्षेत्रमा सहयोग गरिदिन आग्रह नै गरेका थिए ।




प्रतिक्रिया