काठमाडौं, माघ १५ । कोलम्बियाको उत्तरी प्रान्त नोर्टे डे सान्तान्डरको ग्रामीण क्षेत्रमा भएको विमान दुर्घटनामा १५ जनाको ज्यान गएको छ। दुर्घटनामा १३ यात्रु र दुई जना चालक दलका सदस्यको घटनास्थलमै मृत्यु भएको कोलम्बियाली नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी साटेनाले सञ्चालन गरेको उक्त विमान एचके–४७०९ स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ बजे राजधानी कुकुटाबाट ओकानातर्फ उडेको थियो।
उडान छोटो दूरीको भए पनि केही समयमै विमान ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलमा खटिए पनि कोही पनि जीवित फेला नपरेको अधिकारीहरूले बताएका छन्।
दुर्गम भू–भाग र कठिन मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ। दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। प्राविधिक खराबी, मौसमीय अवस्था वा मानवीय त्रुटिमध्ये कुन कारणले दुर्घटना भयो भन्ने विषयमा नागरिक उड्डयन निकायले औपचारिक अनुसन्धान सुरु गरेको छ।




प्रतिक्रिया