नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकताः राजदूत तुम्बाहाम्फे


काठमाडौँ, १५ माघ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गरेका छन्।

नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ ।

भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेकी थिइन् । उनले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् ।

छलफलका क्रममा दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे पनि गहन छलफल भएको थियो । विशेषगरी ग्वाङ्जु क्षेत्रमा रहेका नेपाली विद्यार्थीका लागि बीमालगायतका सामाजिक सुरक्षासम्बन्धी सेवाहरू कसरी अझ सहज, सरल, किफायती र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूतसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेकी थिइन् । साथै, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा समस्या समाधानमा राजदूतावास र अवैतनिक वाणिज्यदूतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

भेटका क्रममा राजदूतावासले निकट भविष्यमा ग्वाङ्जु क्षेत्रमा बृहत् लगानी सम्मेलन आयोजना गर्ने सोच राखेको र सोका लागि सम्भाव्य लगानीकर्ताहरूको पहिचान र पहल गर्न राजदूत तुम्बाहाङ्फेले अवैतनिक वाणिज्यदूतलाई आग्रह गरिन् ।

सोही अवसरमा अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले ग्वाङ्जु क्षेत्रमा हालसम्म आफूले सम्पन्न गरेका गतिविधि, आफ्नो कार्यप्रगति तथा आगामी दिनमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने योजना र पहलहरूबारे राजदूतलाई अवगत गराए ।

नेपालप्रति विशेष आत्मीयता राख्ने अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओन आफूलाई ‘नेपालको छोरा’ भन्न रुचाउँछन् । उनले हालसम्म २१ पटक नेपाल भ्रमण गरिसकेका छन् । सन् २०१५ को भूकम्पका बेला पहिलो कोरियाली राहत टोलीको नेतृत्व गर्दै नेपाल पुगेका जिओनले कोरियाली चिकित्सकसहितको ठूलो टोली लिएर नेपालको उक्त विपद्को घडीमा उल्लेखनीय सहयोग पु¥याएको थियो । उनको यस योगदानले नेपाल–कोरियाबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ । रासस/file photo