आगामी निर्वाचन मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दु : रास्वपा


काठमाडौं, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र तिमार्फत् सिर्जित बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै रहेको जनाएको छ ।

सहिद दिवसका अवसरमा रास्वपा उपसभापति डीपी अर्यालले शुक्रबार जारी गरेको सहिद दिवस : स्मरण सन्देशमा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन केवल जनप्रतिनिधि चुन्ने प्रक्रिया मात्रै नभएर यो मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दु रहेकाले यसै निर्वाचनपश्चात् रास्वपाको नेतृत्वमा मुलुकले राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्ने उल्लेख छ ।

‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो । तर, लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र तिमार्फत् सिर्जित बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् ।’ सन्देशमा लेखिएको छ, ‘यो पृष्ठभूमिमा फागुन २१ गते हुन गइरहेको निर्वाचन केवल जनप्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, बरु यो मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दु हो । हामी आशावादी छौं । यसै निर्वाचनपश्चात् रास्वपाको नेतृत्वमा मुलुकले राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्नेछ।’

सहिदको बलिदानको वास्तविक सम्मान भनेकै राष्ट्रिय स्वाभिमान र एकताको अभिवृद्धि तथा जनअपेक्षाको यथोचित सम्बोधन रहेकाले जनउत्तरदायी राज्य, विधिको शासन र कर्मशील नागरिकको संयोजबाट मात्रै राष्ट्रिय संकल्प र सहिदका सपना पूरा गर्न सकिन्छ भन्ने मान्यतामा रास्वपा दृढ रहेको जनाइएको छ ।