फेरि सक्रिय हुँदै वर्षा गराउने प्रणाली, भोली काठमाडौंमा छिटपुट वर्षा


काठमाडौं, माघ १९ । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । पश्चिमी न्यून चापीय प्रणालीको असर देखिन थालेको सुदूरपश्चिम क्षेत्रमा उक्त प्रणाली सक्रिय रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउन सक्नेछ । महाशाखाका अनुसार उक्त प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ भने कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेस प्रदेशमा भने असर न्यून रहने छ । त्यस्तै, काठमाडौंमा मङ्गलबार राति छिटपुटसम्म वर्षा हुन सक्ने छ ।

आज तराई भू–भागका केही स्थानमा हुस्सु/कुहिरो रहने तथा देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।