प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ


गाजा,१९ माघ । प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक समिति’का सदस्यहरूको प्रवेशमा ढिलाइ भएको छ । गाजाको प्रशासन सञ्चालनका लागि गठन गरिएको राष्ट्रिय समितिका सदस्य ऐद याघीका अनुसार समितिका सदस्यहरू हाल इजिप्टको राजधानी काइरोमै रोकिएका छन् ।

उनका अनुसार विभिन्न प्राविधिक समस्या र अन्य अवरोधका कारण समितिको १५ सदस्यीय टोली निर्धारित समयमै गाजा प्रवेश गर्न सकेको छैन । तर समस्या समाधान भएमा आगामी केही दिनभित्र गाजामा प्रवेश गर्न सकिने आशा गरिएको छ ।

समितिका अर्का एक सदस्यले नाम नबताउने शर्तमा समितिसँग हालसम्म स्थायी कार्यालय नहुनुका साथै दैनिक कार्य सञ्चालनका लागि आवश्यक बजेटसमेत नजुटेको जानकारी दिए । उनका अनुसार हालसम्म कुनै आर्थिक सहयोग प्राप्त भएको छैन । यद्यपि, समितिले गाजा सहरमा छिट्टै एउटा भवन भाडामा लिएर औपचारिक रूपमा काम सुरु गर्ने तयारी गरिरहेको छ ।

गाजामा प्रवेश गरेपछि समितिका सदस्यहरूले विभिन्न प्यालेस्टिनी राजनीतिक गुटहरू तथा सम्बन्धित सरकारी निकायहरूसँग छलफल गर्ने योजना बनाएका छन् । ती छलफलमार्फत मन्त्रालय र सरकारी कार्यालयहरूको जिम्मेवारी हस्तान्तरण तथा प्रशासनिक समन्वय प्रक्रिया अघि बढाइने बताइएको छ ।

यसैबीच, प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार सोमबार रफाह नाका हुँदै करिब ५० जना बिरामी गाजामा फर्किने अपेक्षा गरिएको छ । तर गाजाबाट बाहिर जान चाहने व्यक्तिहरूका लागि अपनाइने प्रक्रिया र मापदण्ड अझै स्पष्ट नभएको जनाइएको छ ।

रफाह नाका १८ महिनाभन्दा बढी समयसम्म पूर्ण रूपमा बन्द रहेपछि आइतबार प्रयोगात्मक रूपमा आंशिक रूपमा पुनः सञ्चालनमा ल्याइएको हो । नाकाको पुनः सञ्चालनले मानवीय आवतजावतमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ । रासस