म्याग्दी, १९ माघ । जिल्लामा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन् । माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मीनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि सुरु भएको अभियान रघुगङ्गा र धवलागिरि गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिए ।
“यो अभियानमार्फत ३० वर्षभन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधि सेवन नगरेकाको मधुमेह, रक्तचाप र मिर्गौलाको परीक्षण हुन्छ”, उनले भने, “नसर्ने रोगका बिरामीको पहिचान गरी समयमै उपचारको पहुँचमा पु¥याउन अभियान सञ्चालन भएको हो ।”
मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि यही महिनाभित्र स्वास्थ्यकर्मी परिचालन गरेर नसर्ने रोगका बिरामी पहिचान अभियान सञ्चालन गर्ने तयारीमा रहेका न्यौपानेले बताए । प्रदेश अस्पताल बेनीमा भने मधुमेह, रक्तचाप, मिर्गौला, मुटुको परीक्षणको सुविधा निःशुल्क उपलब्ध गराइएको छ ।
टोलटोलमा जाने स्वास्थ्यकर्मीहरूले ‘किट’को प्रयोग गरेर परीक्षण गर्ने र समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउनेछन् । विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्न सकेमा क्षति रोकिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।
अस्वस्थकर खानपान, ध्रुमपान, मद्यपान, शारीरिक व्यायामको कमीका कारण पछिल्लो समय उच्च रक्तचाप, मिर्गौला, मुटुलगायत नसर्ने रोगको सिर्जना हुने र मानिसको ज्यान जाने गरेको उनले बताए ।
रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले नसर्ने रोगको पहिचानका लागि माघ २१ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको अभियानको तयारीका लागि आइतबार स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताए ।
आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापन गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नसर्ने रोग स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतीका रूपमा देखिएको बताए । रासस




प्रतिक्रिया