महोत्तरी, २० माघ । विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सातजना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् ।
विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडौँको कीर्तिपुरका बासिन्दा ४० वर्षीय कवि महर्जनले बताए । ‘वल्र्ड साइकल टुर क्याम्पियन नेपाल’ संस्थामा आबद्ध यात्रीले आसन्न प्रतिनिधिसभा निर्वाचनबाट मुलुकले राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढोस् भन्ने बाटोमा भेटिएका आम सर्वसाधारणको धारणा पाइएको बताएका छन् ।
आफूहरु आबद्ध संस्थाको १०औँ वर्षगाँठको अवसर पारेर यसपालि ‘नेपाल साइकल यात्रा’ थालिएको टोली नेता महर्जनको भनाइ छ । यात्रामा महर्जनका अतिरिक्त अन्य छ जना ललितपुरका छन् । त्यसमा रविन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, निरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्यको सहभागिता छ ।
यात्रीले पूर्वपश्चिम राजमार्ग आसपासका पर्यटकीय र धार्मिक महत्वका स्थलको अवलोकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने लक्ष्य लिएका छन् । बर्दिबास आइपुगेका यात्रीलाई आज बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तमकुमार श्रेष्ठसहितका उद्योगी व्यवसायीले स्वागत गरे । यात्रीहरुको टोली आजै बर्दिबासबाट निजगढ पुग्ने टोली संयोजक महर्जनले बताए ।
बर्दिबास आइपुगेका यात्रीलाई यहाँका उद्यमी व्यवसायीले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्मको यात्रामा देखिएको चुनावी चहलपहलबारे जिज्ञासा राखेका छन् । यात्रा सम्पन्न गरिएका जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको देखिएको यात्रीले छोटो प्रतिक्रिया व्यक्त गरे । रासस




प्रतिक्रिया