अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते


काबुल, २१ माघ। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सन् २०२५ मा देशभर बारुती सुरुङ विस्फोटका कारण कम्तीमा ८७ जनाको मृत्यु हुनुका साथै ३३३ जना घाइते भएको जनाएको छ ।

विगत एक वर्षमा अफगानिस्तानमा खानी विस्फोट र बारुती सुरुङ विस्पोटको परिणामस्वरूप कुल १९३ वटा विस्फोट घटनाहरू रेकर्ड गरिएको प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएको छ । उनले कुल हताहतको ६७.५ प्रतिशत बालबालिका रहेकोसमेत उल्लेख गरेको छ ।

सोही अवधिमा जमिनबाट खतराहरू हटाउन निकासी अपरेसनहरू भए पनि, अझै अधिकारीले एक लाख ६० हजार वर्ग किलोमिटर भन्दा बढी अफगान क्षेत्रमा खानी र बारुती सुरुङ रहेको जनाइएको छ ।

प्रतिवेदनले युद्धका विस्फोटक अवशेषहरूबाट विश्वको सबैभन्दा गम्भीर रूपमा प्रभावित राष्ट्रहरू मध्ये एकको रूपमा अफगानिस्तानलाई देखाएको छ । संयुक्त राष्ट्र सङघले हालै बारुती सुरुङ र गोलाबारुदका कारण हुने हताहतका लागि अफगानिस्तानलार्ई विश्वव्यापी रूपमा तेस्रो स्थानमा राखेको छ । रासस