काठमाडौं, २१ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफूले असाधारण मार्जिनले चुनाव जित्ने दाबी गरेका छन् । एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको निर्वाचन विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनाव जित्नेमा कुनै शंका नरहेको र पहिलाको भन्दा फराकिलो मतान्तरल जित्ने बताएका हुन् ।
ओलीले यसपटक आफ्नो विरुद्धमा उठेका सबै उम्मेदवारहरु नयाँ रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै घण्टीवालालाई मन्दिरतिर पठाइदिने टिप्पणी गरे । उनले भने, ‘यसपटक मेराविरुद्ध उठेका सबै उम्मेदवार नयाँ छन् । म मात्रै हो पुरानो । घण्टीको काम मन्दिरमा हुन्छ । गाउँमा हैन, घर–घरमा घण्टी राखेर पनि हुन्छ ? घण्टीको काम मन्दिरमा हुन्छ, घण्टीवालाहरुलाई मन्दिर पठाइदिने, हामी गाउँमा काम गर्नुपर्यो ।’
साथै, उनले सरकारले निर्वाचनमा पेलपाल र धाँधली गर्न खोजेको खण्डमा देशमा ठूलो अनिष्ठ हुने चेनावनी दिए । उनले पढेलेखेका मान्छेहरुले नै आफ्नो विरुद्ध दुष्प्रचार गरेको भन्दै आपत्ति जनाए । आफ्नो हात रगतले लत्पत्तिएको, लामा–लामा दाँत भएको र रक्तपाक्ष मुख भएको तस्वीर बनाएको भन्दै दुःख व्यक्त गरे । ओलीले आफू बालबालिका भनेपछि हुरुक्कै हुने र जन्मदिने बाबुआमाले भन्दा पनि बढी माया गर्ने बताए ।
‘केपी ओलीका हात रातै, रातै रगतले लत्पत्तिएको देखाएको छ । कहिले पलाएछन् कुन्नि ? यति लामा–लामा दाँत देखाएको छ । रगतपक्ष मुख देखाएको छ । यो कुनै अनपढ मान्छेले गर्न सक्ने कुरा होइन । देशका विरुद्धको अपराध हो यो । केपी ओली जसले युवाका लागि अनेक कार्यक्रम ल्यायो, स्टाटप ल्यायो । आइटीको विकासमा जोड दियो, उसलाई युवा विरोधी भनेको छ । जुन केपी ओली बालबालिका भनेपछि हुरुक्क हुन्छ, त्यति माया गर्छ, त्यही केपी ओलीले बच्चा मार्यो भनेर चित्रण गर्न खोजिएको छ,’– उनले भने ।




प्रतिक्रिया