काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू सर्वाधिक मत ल्याएर जित्ने सांसद बन्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै ओलीले अहिले भएका उम्मेदवारमध्ये आफूले सर्वाधिक मत पाउने बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेले आसन्न फागुन २१ गतेको निर्वाचनमा सकभर बहुमत ल्याउने र यदि बहुमतको अवस्थामा पुग्न नसकेको खण्डमा प्रमुख पार्टी बन्ने बताए । उनले भने, ‘२०८२ को चुनावमा देशभरीमा सर्वाधिक मत ल्याएर जित्ने सांसद म हुनेछु, अहिलेका उम्मेदवारमध्ये । मेरो पार्टी भरसक बहुमत, नत्र बहुमतको नजिक प्रमुख पार्टीको हिसाबमा उपस्थित हुनेछ ।’
ओलीले वर्तमान सरकार आलोकतान्त्रिक रहेको पनि दाबी गरे । तोडफोड र आजजनीबाट सरकार बन्न नसक्ने उनले बताए । जनताले विश्वास गरेको, जनताले निर्वाचनमार्फत छानेका प्रतिनिधिबाट मात्रै सरकार बन्ने उनले बताए । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार हाहा, हुहुबाट बनेको उनले बताए ।




प्रतिक्रिया