झापा–५ मा मेरो जित विल्कुल सुनिश्चित् छ, देशभरिमा सर्वाधिक मत ल्याएर जित्ने उम्मेदवार हुनेछु : ओली (भिडिओ–सहित)


काठमाडौं, २२ माघ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ मा आफ्नो जित विल्कुल सुनिश्चित् रहेको दाबी गरेका छन् । उनले भने,‘झापा–५ मा मेरो जित विल्कुल सुनिश्चित् छ । किनकी म त्यहाँको मान्छे हुँ । त्यहाँको विकास गरेको मान्छे हुँ । त्यहाँका जनतासँग जानपहिचान भएको मान्छे हुँ । त्यहाँको र देशकै निम्ति परिचित र परीक्षित मान्छे हुँ ।म के गर्न सक्छु भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमासमेत देखाएको छु । विकास निर्माणमा देखाएको छु, डेमोक्रेसीको प्रश्नमा पनि देखाएको छु । अनि केही नपाएपछि तिनै मान्छेहरुले हत्या गर्यो भनेर देखाउने, तीनै हत्या गर्ने र गराउनेहरुले मलाई हत्या गर्यो भन्ने ?’

हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । भावी प्रधानमन्त्रीका उम्मेदवारसँग आफूले पब्लिक डिवेटको लागि दिएको खुला चूनौतिलाई लिएर रास्वपाका वरिष्ठ नेता बालेन शाहले ‘हत्यारासँग मञ्च सेयर गर्दिनँ’ भनेर दिएको टिप्पणीलाई ओलीले असभ्यको संज्ञा दिएका छन् ।

उनले भने,‘पब्लिक डिवेट गर्न नसक्नेले सक्दिनँ भने भयो नि, त्यो कुरा कसले उनलाई भन्यो हत्यारा भनेर ? कुन अदालतले भन्यो ? कसले प्रमाणित गर्यो ? यस्ता होश तथा बेहोसमा गरिएको टिप्पणीमा म जान चाहन्नँ । होशमा बोलेको हो कि, आवेशमा होश कि, यस्ता कुरामा म जान चाहन्नँ ।’ उनले को कति लोकप्रिय छ भन्ने कुरालाई आफूले चुनावी बहसभन्दा पनि चुनावको परीणामबाट हेर्ने बताए ।

उनले भने,‘म तपाईंलाई के भनिदिन्छु भने नेपालमा यो निर्वाचनमा सर्वाधिक भोट ल्याएर जित्ने उम्मेदवार म हुनेछु । उम्मेदवारहरुमध्ये देशभरिमा सर्वाधिक मत ल्याएर जित्ने म हुनेछु । मेरो पार्टी सकभर बहुमत, नत्र बहुमतनजिकको प्रमुख पार्टीको हैसियतमा उपस्थित् हुनेछ ।’