काठमाडौं माघ २५ । लोकतन्त्र संवाद अभियानद्वारा आयोजित वृहद् लोकतन्त्र संवाद कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । लोकतन्त्र, संस्कृति र संवृद्धिलाई मूल मन्त्र बनाएको अभियानले शनिवार राजधानीको राष्ट्रिय सभागृहमा सो कार्यक्रम आयोजना गरेको हो ।
पाँचजना वक्ता रहनुभएको सो संवाद कार्यक्रममा राजनीतिक विश्लेषक तथा स्तम्भकार श्रीकृष्ण अनिरुद्ध गौतमले स्वागत भाषण गरेका थिए । निकेशकुमार लम्सालले सञ्चालन गरेको सो कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश आनन्दमोहन भट्टराई, चन्द्रदेव भट्ट, भारतका राजनीतिक शास्त्रका प्राध्यापक डा. सञ्जीवकुमार शर्माले लोकतन्त्र, राष्ट्रियता, सुशासन र आगामी फागुन २१ गते हुने निर्वाचनलगायत समसामयिक विषयमा आ/आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा गौतमले देशमा संविधान र व्यवस्थामात्र परिवर्तन भएको छ यो रोकिनुपर्छ र यसका लागि आगामी सबैको विवेकको परीक्षा हुने बताए । यस्तै कार्यक्रमका अर्का वक्ता सञ्जीव शर्माले अत्रिस्मृतिको अंश उद्धरण गर्दै शासकमा सुशासन गर्ने प्रतिबद्धता हुनुपर्ने भने ।
सो कार्यक्रमका पछिल्ला वक्ता आनन्दमोहन भट्टराईले अदालतले क्रान्ति गर्दैन तर क्रान्ति भइहाल्यो भने त्यसलाई आत्मसात् गर्छ भने । यस्तै विगतमा १७ पटकसम्म निर्वाचन हुँदा पनि संसद्ले प्रधानमन्त्री छान्न नसकेको र सर्वोच्च अदालतले यस्तो निर्वाचनमा सांसद तटस्थ बस्न नपाउने भनी फैसला गरिदिएपछि मात्र मुलुकले प्रधानमन्त्री पाएको उल्लेख गर्दै अदालतको भवन जलाइए पनि अन्तिम अवस्थामा अदालतकै नेतृत्वले देश सम्हालेको पनि भट्टराईले बताए।




प्रतिक्रिया