-विपुल पोख्रेल
काठमाडौँ, २६ माघ (रासस) । आवधिक निर्वाचनले नै लोकतन्त्रलाई प्राण थप्न सक्दछ । निर्वाचन केवल अङ्कगणितको खेल हैन, यो त नागरिकले आफ्नो सार्वभौमसत्ताको प्रयोग गर्ने र आफ्ना प्रतिनिधि चुन्ने एउटा अवसर हो । चुनावलाई अङ्कगणितको खेलमा सीमित राख्ने र सत्तामा जाने सिँढी मात्र सम्झने हो भने त्यो जीवन्त लोकतन्त्र हुन सक्दैन, त्यसलाई प्राविधिक लोकतन्त्रको नाम मात्र दिन सकिन्छ ।
यद्यपि निर्वाचनको प्रक्रिया हेर्ने हो भने मत हाल्ने, धेरै सङ्ख्याले जित्नेलाई सत्तामा पु¥याउने मात्र ठान्न सकिएला । तर, यसलाई जीवन्त बनाउन र प्राविधिक लोकतन्त्र हुन नदिनका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ निर्वाचनको सफलता केवल राजनीतिक दलहरूको सक्रियता वा निर्वाचन आयोगको तयारीमा मात्र निर्भर हुँदैन । निर्वाचनलाई कति स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउने भन्ने कुरामा राज्यको चौथो अङ्ग अर्थात् पत्रकारिताको भूमिका अत्यन्तै निर्णायक र अपरिहार्य हुन्छ ।
आजको सूचना प्रविधिको युगमा मतदाताको अभिमत निर्माण गर्न मिडियाले सबैभन्दा शक्तिशाली भूमिका खेल्छ । सही सूचनाले सही नेतृत्व चयनमा मद्दत गर्छ भने गलत सूचनाले लोकतन्त्रकै भविष्यलाई अन्धकारमा धकेल्न सक्छ । तसर्थ, निर्वाचनको समयमा पत्रकारिताको जिम्मेवारी अरू बेलाभन्दा कैयौँ गुणा बढ्छ । यो समय भनेको मिडियाको विश्वसनीयताको अग्निपरीक्षाको समय पनि हो ।
आसन्न निर्वाचनको सङ्घारमा सामाजिक सञ्जाल एउटा गम्भीर चुनौतीका रुपमा खडा भएको छ । कुनै पनि सम्पादकीय प्रक्रिया र जवाफदेहिता बिना सामाजिक सञ्जालमा पोखिने व्यक्तिगत धारणाहरूलाई नै नागरिकले आधिकारिक सूचना मान्ने खतरा ह्वात्तै बढेको छ । सामाजिक सञ्जालको यो ‘हा हा हो हो’ र असन्तुलित बाढीले जनमतलाई दिग्भ्रमित पार्ने जोखिम उच्च छ । योभन्दा अघिल्ला चुनावहरुमा पनि सामाजिक सञ्जालहरुको अभ्यास गरिएको भएता पनि त्यो बेला यतिको प्रभावकारी मानिँदैनथ्यो ।
इन्टरनेटमा पहुँचको वृद्धि र मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा आएको अप्रत्याशित वृद्धिले अब यो सुविधा एउटा चुनौती बन्न पुगेको छ । बौद्धिक कृत्रिमता (एआई)को प्रयोगले ‘फेक’ सामग्री बनाई सम्प्रेषण गर्ने अभ्यास त यो चुनावमा मात्रै देखिँदैछ । त्यसकारण अघिल्ला चुनाव र यो चुनावका बीचमा चुनौतीका दृष्टिले धेरै भिन्नता देखिएको छ । सरोकारवालाहरुले यो कुरामा समयमै ध्यान पु¥याउन आवश्यक देखिन्छ । एआई अहिले नवीन चुनौती बनेको तथ्यमा उभिएर नै आगामी रणनीति बनाउन सरोकारवालाहरु गम्भीर हुन आवश्यक छ ।
इन्टरनेटको पहुँचमा भएको वृद्धिसँगै उपस्थित यो खतरालाई चिर्ने एक सशक्त माध्यम मूलधारको पत्रकारिता हो । मूलधारको पत्रकारिता भनेको केवल सूचना प्रवाह होइन, यो त निश्चित सम्पादकीय नीति, तथ्यको परीक्षण र जवाफदेहिताको कसीमा खारिएको सामग्रीको उत्पादन र प्रवाह हो । यतिबेला पत्रकारितासामु ठूलो चुनौती छ–नागरिकलाई सामाजिक सञ्जालको ‘अल्गोरिदम’ निर्देशित भ्रामक जालोबाट बाहिर निकाल्नु । भीडको हल्लाबाट जोगाएर सही, सत्य र विश्वसनीय समाचार प्राप्तिमा नागरिकको पहुँच सुनिश्चित गर्ने यो अग्निपरीक्षामा मूलधारको पत्रकारिता सफल हुनैपर्ने दबाब सिर्जना भएको छ ।
जिम्मेवार पत्रकारिताको पहिलो र आधारभूत सर्त के हो भने, मिडियाले आफ्नो वास्तविक परिचय कहिल्यै भुल्नु हुँदैन । मिडिया सत्ताको भजनमण्डली वा कुनै अमुक राजनीतिक दलको अघोषित प्रवक्ता होइन, र हुनु पनि हुँदैन । लोकतान्त्रिक व्यवस्थामा मिडियाको एकमात्र बफादारी नागरिकप्रति हुनुपर्छ । यो नागरिकको ‘सूचना पाउने संवैधानिक हक’ को सच्चा संरक्षक हो । निर्वाचनको बेला दलहरूले आफ्ना ‘एजेन्डा’ स्थापित गर्न मिडियालाई प्रयोग गर्न खोज्नु नौलो कुरा होइन तर ती दबाब र प्रलोभनबाट मुक्त रही स्वतन्त्र अस्तित्व जोगाइराख्नु नै असली पत्रकारिता हो ।
यदि कुनै सञ्चारमाध्यमले समाचारलाई तोडमरोड गरेर, कुनै एक पक्षलाई मात्र काखी च्यापेर वा विपक्षलाई निरन्तर प्रहार गरेर सामग्री पस्कन्छ भने त्यो पत्रकारिता रहँदैन, त्यो त ‘प्रोपोगान्डा’ मात्र बन्छ । पक्षपातपूर्ण प्रस्तुतिले समाजमा ध्रुवीकरण बढाउँछ र मतदातालाई दिग्भ्रमित तुल्याउँछ ।
निर्वाचनको संवेदनशील घडीमा अपुष्ट समाचार सम्प्रेषण गर्नु भनेको आगोसँग खेल्नु जस्तै हो । हतारमा ‘ब्रेकिङ न्युज’ दिने होडबाजी वा बढी ‘भ्युज’ बटुल्ने लोभमा राखिने सनसनी खालका शीर्षकहरूले क्षणिक चर्चा त देलान् तर दीर्घकालमा यसले मिडिया स्वयंको विश्वसनीयता गुम्छ र प्रकारान्तरले लोकतन्त्रको जगलाई नै कमजोर बनाउँछ ।
त्यसो भए निर्वाचनमा मिडियाको धर्म के हो त ? यसको सिधा उत्तर हो– तथ्यमा आधारित सत्य सूचनाको प्रवाह । विचार र समाचारलाई अलग–अलग राखेर प्रस्तुत गर्नु व्यावसायिक धर्म हो । निर्वाचनका बेला अनेकौँ हल्ला, आरोप–प्रत्यारोप र भ्रामक सूचनाहरूको बाढी आउँछ । यस्तो बेलामा मिडियाले ‘फिल्टर’ को काम गर्नुपर्छ । तथ्य जाँच (फ्याक्ट चेक) नगरी कुनै पनि कुरा बाहिर ल्याउनु हुँदैन । यसका साथै, लोकतन्त्रमा सबैको आवाजको कदर हुनुपर्छ ।
निर्वाचनमा ठूला र साना, सत्ता पक्ष र प्रतिपक्ष, स्रोतसाधनले सम्पन्न र विपन्न सबै खाले दल तथा उम्मेदवार मैदानमा हुन्छन् । मिडियाले पहुँच र शक्तिका आधारमा मात्र स्थान दिने हो भने त्यो न्यायोचित हुँदैन । सबै पक्षलाई आफ्ना एजेन्डाहरू जनतासमक्ष राख्न समान अवसर प्रदान गर्नु मिडियाको नैतिक दायित्व हो । समावेशी र बहुलवादी समाजमा सीमान्तकृत समुदायका मुद्दाहरू, महिला उम्मेदवारका आवाजहरू र वैकल्पिक विचारहरूलाई पनि मूलधारको मिडियाले स्थान दिनुपर्छ ।
पत्रकारिता भनेको केबल ‘कसले के भन्यो’ वा ‘कसको सभामा कति मान्छे आए’ भनेर टिपोट गर्नु मात्र होइन । जिम्मेवार पत्रकारिताले सतहभन्दा गहिराइमा पुगेर विश्लेषण गर्न सक्नुपर्छ । दलहरूका घोषणापत्रहरूको तुलनात्मक अध्ययन, उम्मेदवारहरूको विगतको पृष्ठभूमि र उनीहरूका बाचाहरूको यथार्थपरक विश्लेषणले मात्र मतदातालाई सही निर्णय लिन मद्दत गर्छ ।
तर, यस्तो विश्लेषण पनि आग्रह÷पूर्वाग्रहबाट मुक्त र तथ्यमा आधारित हुनुपर्छ । जिम्मेवार विश्लेषण नै विश्वसनीय पत्रकारिताको आधारस्तम्भ हो भन्ने मान्यतालाई कहिल्यै भुल्नु हुँदैन । मूलधारको पत्रकारिताले जतिसुकै परिश्रम गरेर उत्कृष्ट एवं तथ्यपरक सामग्री तयार पारे पनि यदि पाठक वर्ग त्यसतर्फ आकर्षित भएनन् भने त्यसको अपेक्षित परिणाम हासिल हुन सक्दैन । सामग्री राम्रो हुनु मात्र पर्याप्त छैन, त्यो लक्षित वर्गसम्म पुग्नु र विश्वसनीय ठानिनु पनि उत्तिकै महत्वपूर्ण छ ।
आजको ‘डिजिटल’ युगमा नागरिकलाई सामाजिक सञ्जालको भ्रामक अल्गोरिदमको जालोबाट जोगाउनु ठूलो चुनौती बनेको छ । यो चुनौतीको सामना गर्न राजनीतिक दलहरू र निर्वाचन आयोगले आफ्नो दायित्व गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ
यी जिम्मेवार निकायहरूले आम मतदातालाई सामाजिक सञ्जालमा आउने व्यक्तिगत धारणा र अपुष्ट सूचनाका आधारमा आफ्नो मत नबनाउन निरन्तर सचेत गराउनुपर्छ । उनीहरूले नागरिकलाई सम्पादकीय प्रक्रिया पूरा गरेका र जवाफदेहिता बहन गर्ने मूलधारका समाचार माध्यमतर्फ ध्यान केन्द्रित गरेर मात्र धारणा बनाउन सूचित तथा प्रेरित गरिरहनुपर्छ । यसो गर्न सकिएमा मतदाताहरू गलत सूचनाका आधारमा निर्णय लिने जोखिमबाट जोगिनेछन् ।
दल र आयोगको यो सक्रियताले निर्वाचनलाई स्वच्छ बनाउन मात्र होइन, समाजमा मिडिया साक्षरता अभिवृद्धिका सन्दर्भमा पनि महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । निर्वाचन लोकतन्त्रको परीक्षा हो भने यो समय पत्रकारिताको पनि परीक्षा हो । स्वच्छ निर्वाचन र जिम्मेवार मिडिया एकअर्काका पूरक हुन् । यदि मिडियाले आफ्नो धर्म इमान्दारीपूर्वक निभाउने हो भने मात्र लोकतन्त्रको यो उत्सव सार्थक र परिणाममुखी बन्न सक्छ ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन्)




प्रतिक्रिया