काठमाडौं, २६ माघ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा वरिष्ठ अर्थशास्त्री डा. पञ्चकुमारी मानन्धरले काठमाडौं–९ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उनको चुनाव चिह्न ‘आँखीझ्याल’ रहेको छ । जेन–जीको सपना साकार गर्नको लागि आफूलाई मतदान गर्न उनको अपिल छ । उनी राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य हुन् । उनलाई अहिले काठमाडौं उपत्यकाकै सबभन्दा विज्ञ उम्मेदवारको रुपमा हेरिएको छ ।
उनले जारी गरेको घोषणापत्रमा कलियुग हटाउन र सत्युग ल्याउनको लागि आफ्नो उम्मेदवारी रहेको कुरा उल्लेख गरिएको छ । उनले तीन करोड नेपालीलाई निःशुल्क स्वास्थ्य, शिक्षा र कानूनी सेवा दिनको लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेकी छिन् । उनले शिक्षा, स्वास्थ्य र कानूनी सेवा तीनवटै क्षेत्रमा माफियागिरी पूर्ण रुपमा रोक्ने घोषणा गरेकी छिन् ।
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन भर्टिकल फार्मिङमार्फत आर्थिक क्रान्ति गरि ४० देखि ५० लाख नयाँ रोजगारी सिर्जना गर्ने कुरा पनि उनको घोषणापत्रमा समेटिएको छ । काठमाडौंको हावा एसियामा सबभन्दा सफा बनाउन, ७० प्रतिशत ट्राफिक कम गर्न, हिमालय पग्लिनबाट बचाउन, वर्क विदिन वाकिङ डिस्टान्स को नयाँ आर्थिक नीति ल्याउने कुरा पनि घोषणापत्रमा समावेश गरिएको छ । बैंकिङ क्षेत्रमा नियमन गरी सहकारीमा डुबेको पैसा फिर्ता गर्दै नेपालको वार्षिक आम्दानी ५०० देखि ७०० अर्ब वृद्धि गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य र कानून व्यवसाय नभएर सरकारको जिम्मेवारी हुनुपर्ने मान्यता पनि राखिएको छ ।





प्रतिक्रिया