काठमाडौं, माघ २७ । गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवाद अझै शान्त हुन सकेको छैन् ।
सोमबार बिहान गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
त्यसको विरोधमा कैदीहरूले सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका छन् । स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेश बहादुर पालका अनुसार कैदीहरूले नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै होहल्ला र नाराबाजी आज बिहानसम्म पनि जारी राखेका छन् । कारागारको तनावको विषयमा छलफल गर्न अहिले जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।




प्रतिक्रिया