रौतहट, २७ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु रहेको बताउदै उनले भ्रष्टाचारी, लुटेराहरुलाई कारवाही गर्नका लागि राम्रा मान्छेहरु एकीकृत हुन आवश्यक रहेको उनले बताए ।
रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा आज चुनावी छलफल एवं भेटघाटका क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।
रौतहट–३ का उम्मेदवार समेत रहेका आजपा अध्यक्ष साहले भने, ‘सबैतिर राम्रा र नराम्रा मान्छेहरु छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु छन् । भ्रष्टाचारी, लुटेरालाई कारवाही गर्न, समाज परिवर्तन गर्न, विकासका काम अगाडी बढाउनका लागि राम्रा मान्छेहरु एकजुट हुन आवश्यक छ । हामी एकीकृत हुँदै भ्रष्ट, दलाल, लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यक्ता हो ।’
राम्रा मान्छेहरु एकठाउँमा नआएसम्म समाज परिवर्तन गर्न नसकिने बताउदै उनले जिल्लाको विकास, समृद्धि, जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु आजपामा गोलबद्ध हुन साहले आग्रह गरे ।
‘यो निर्वाचन असली र नक्कलीबीचको लडाई पनि हो । यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई हो । त्यसैले राम्रा मान्छे एकीकृत हुँदै समाजविरोध, मुलुक विरोधलाई यो निर्वाचनमा हामीले परास्त गर्नैपर्ने हुन्छ,’ आजपा अध्यक्ष साहले भने ।
जुगौलियाको भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ व्यक्तिहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य एवं समानुपातिक तर्फका उम्मेदवार लालबाबु मन्सुरीले जनाएका छन् । ग्यानु सिंह, सुधिर सिंह, रामएकबाल साह, शेख नुरसैद, शेख जमिलअख्तर लगायतका दर्जनौं व्यक्तिहरुलाई आजपा अध्यक्ष साहले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन् ।




प्रतिक्रिया