झापा ५ की कांग्रेस उम्मेदवार मन्धरा भन्छिन् – म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु


झापा, २८ माघ । झापा ५ की नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने दाबी गरेकी छिन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले स्थानीय तहमा समाजसेवा गर्दै आएको र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकाले स्थानीयहरूको विश्वास रहेको बताइन् ।

उनले भनिन्, “म यहीँको स्थानीय हो । मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो दुवै सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकीले यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो । भोट यसपालि मलाई नै दिनुहुन्छ ।”

उनले आफू मिडियामा कम आए पनि जनताको घरदैलोमा सधैं पुग्ने गरेको बताइन् । उनले भनिन्, “म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु। त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ।”

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेन पनि उम्मेदवार रहँदा उनीहरूका मात्र चर्चा मिडियामा भएकोप्रति चिमरियालाई कुनै गुनासो नभएको हो ।