काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने आजको कार्यक्रममा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ।
मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेसको भनाइ छ ।
सार्वजनिक गरिने घोषणापत्रमा मधेशको समग्र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखिएको पार्टीको दावी छ । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य संरचना निर्माण, लगानीमैत्री वातावरण र सुशासन जस्ता विषयलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ ।




प्रतिक्रिया