दलहरुको चुनावी घोषणापत्रबारे बाबुराम : रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न वढी सफल देखिन्छ।


काठमाडौं, ८ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला पूराना र नयाँ दलहरुको चुनावी घोषणापत्र÷प्रतिबद्धतापत्र वा वाचापत्र हेर्दा जनताको र विशेषतः युवाहरुको बढ्दो आकांक्षाको चाम राम्रै परेको देखिएको टिप्पणी गरेका छन् । उनले विगतको तुलनामा घोषणापत्रहरुको गुणवत्ता बढेको प्रष्ट अनुभुति भएको बताएका छन् । उनले रास्वपा सापेक्ष रुपमा संक्षिप्तमा आफ्ना कुरा राख्न बढि सफल देखिएको पनि दाबी गरेका छन् ।

उनले लेखेका छन्–

ठुला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र/वाचापत्र सर्सर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चाप राम्रै परेको देखिन्छ। परिणामतः विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता बढेको प्रष्ट अनुभूत हुन्छ। यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न वढी सफल देखिन्छ।

घोषित लक्ष्यहरू महत्वाकांक्षी जस्ता देखिए पनि म आफै अर्थमन्त्री छँदा आ ब २०६५/०६६ को बजेट–बक्तब्यमा ’उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!’भन्ने महाकवि देवकोटाको पंक्ति उद्धृत् गर्ने व्यक्ति भएकाले त्यसलाई अन्यथा मान्दिनँ। साथै मैले संसदबाट पनि पटकपटक ’दुइ अंकको बृद्धिदर, दुइ दशक निरन्तर’ लाई राष्ट्रिय नारा बनाएर दृढतापूर्वक कार्यान्वयन नगरी देशको अर्थतन्त्रले फड्को (त्बपभ–याा) मार्दैन र त्यो विना हाम्रो युवा वेरोजगारीको प्रमुख राष्ट्रिय समस्या हल हुन्न भन्दै आएको छु। अहिले सबैले त्यो लक्ष्य राख्नु खुशीको कुरा हो।

परन्तु त्यसकोनिन्ति केही प्रमुख संरचनात्मक सुधार गर्नैपर्छ। खाशगरी आन्तरिक रूपमा दिगो राजनीतिक स्थीरताकोनिम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था र बाह्य रूपमा दुइ ठुला छिमेकी अर्थतन्त्रसंग जोडिन ’गतिशील पुल’ (खष्दचबलत दचष्मनभ) को अबधारणा कार्यान्वयन गर्नैपर्छ। त्यो विना घोषणापत्रका राम्रा महत्वाकांक्षी कुरा ’आकाशको फल आँखा तरी मर्’भने झैं हुन्छ।

यसवारे प्रमुख दलहरू चूप रहनु वा विपक्षमा उभिनु विडम्वनापूर्ण छ। कमसेकम रास्वपाले झिनै स्वरमा भए पनि यी दुइ कुरा उठाएकोमा केही आशा पलाएको छ। निर्वाचनबाट म्यान्डेट लिएर यसलाई कार्यान्यन गर्न सके नयाँ समृद्ध नेपालको सपना अवश्य पूरा हुनेछ। अन्यथा यो निर्वाचन पनि अर्को कर्मकाण्ड मात्र हुनेछ।