आजको युगमा युवा नै अबको राजनेता, प्रशासक र समाज रूपान्तरणका अभियन्ता हुन् : प्रधानमन्त्री कार्की


काठमाडौं, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आजको युगमा युवा नै अबका राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता भएको बताएकी छिन् । आज (शुक्रबार) पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहेलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाहरुलाई यस्तो बताएकी हुन् । सो क्रममा उनले भदौ २३ र २४ गते जेन्जी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएको स्मरण गराईन् ।

उनले भनिन्,‘यस्ता विषयमा हामी कहाँ र किन चुक्यौं भन्ने आत्ममूल्यांकन आवश्यक छ । भविष्यप्रति सकारात्मक सोच, काँधमा जिम्मेवारीबोध र हृदयमा निष्ठा तथा इमान्दारी लिएर अघि बढ्न सके अपेक्षित परिवर्तन अवश्य सम्भव छ । अन्यथा, हामी सधैं कुनै न कुनै बहानामा आन्दोलनकै पर्याय बन्ने जोखिम रहिरहन्छ। नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउने भन्नेमा तपाईंहरू केन्द्रित हुनुपर्नेछ ।’

प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको मन्तव्य

आदरणीय प्रमुख अतिथि चाँदनी जोशीज्यू,
उपकुलपतिज्यू,
रजिस्ट्रारज्यू,
विश्वविद्यालयका पदाधिकारी तथा सभासद्ज्यूहरू,
प्राध्यापक तथा कर्मचारी मित्रहरू,
शिक्षाविद् तथा प्राज्ञिक व्यक्तित्वहरू,
विद्यार्थी तथा अभिभावकज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
पोखरा विश्वविद्यालयको यस गरिमामय २१औँ दीक्षान्त समारोहमा कुलपतिका हैसियतले यहाँहरूका बीच उपस्थित हुन पाउँदा म अत्यन्तै गौरवान्वित भएको छु।
सुन्दर नगरी पोखरा, गण्डकी संस्कृतिको समृद्ध परम्परा र पावन भूमिहरूको पृष्ठभूमिमा स्थापित यस प्राज्ञिक केन्द्रमा आफूलाई पाउँदा म हर्षविभोर भएकी छु ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र बौद्धिक ऊर्जाको संगमस्थलका रूपमा रहेको यस प्राज्ञिक थलोमा ज्ञानको दीप प्रज्ज्वलित गराइरहन तपाईँ शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबैको अथक परिश्रम, धैर्य र आत्मविश्वासको लगानी छ ।
आज २१औँ दीक्षान्त समारोहका रुपमा जुन उत्सव मनाउँदै छौँ, यसका लागि तपाईँहरु सबैमा बधाई थप उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिन चाहन्छु ।
आज दीक्षित हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछु ।
उच्च शिक्षाका विभिन्न उपाधि तथा प्रमाणपत्र प्राप्त गरी तपाईंहरूले आफ्नो धैर्य, लगनशीलता र प्रतिबद्धताको प्रतिफल आज हासिल गर्नुभएको छ ।
यो उपलब्धि एउटा औपचारिक पाठ्यक्रममा रहेर गरिएको यात्राको केवल औपचारिक समापन मात्र होइन । बरु तपाईंहरूको जीवनको नयाँ र महत्त्वपूर्ण प्रस्थानबिन्दु हो ।
नयाँ यात्राको प्रवेशद्वारमा तपाईँहरु आइपुग्नुभएको छ । अब आफ्नो क्षमताको पूर्ण उपयोग गर्दै भविष्यको स्पष्ट दिशाबोधका साथ अघि बढ्नुपर्नेछ ।
मुलुकको विकास र समृद्धिका लागि तपाईंहरूको ज्ञान, सीप, सकारात्मक सोच र सक्रिय योगदान अपरिहार्य छ । यहाँ हासिल गरेको ज्ञानलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी राष्ट्र र समाजको समुन्नतिमा प्रयोग गर्नुहुनेछ भन्ने विश्वास मैले लिएकी छु ।
प्रिय दीक्षित विद्यार्थीहरू,
आज प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक बन्नुपर्छ ।
आजको युगमा युवा नै अबका राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता हुन् । त्यसैले तपाईंहरूले कस्तो भविष्यको परिकल्पना गर्नुभएको छ, त्यसको जग आजैबाट मजबुत बनाउनुपर्नेछ ।
भदौ २३ र २४ गते जेन्जी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका छन् ।
यस्ता विषयमा हामी कहाँ र किन चुक्यौं भन्ने आत्ममूल्यांकन आवश्यक छ ।
भविष्यप्रति सकारात्मक सोच, काँधमा जिम्मेवारीबोध र हृदयमा निष्ठा तथा इमान्दारी लिएर अघि बढ्न सके अपेक्षित परिवर्तन अवश्य सम्भव छ । अन्यथा, हामी सधैं कुनै न कुनै बहानामा आन्दोलनकै पर्याय बन्ने जोखिम रहिरहन्छ।
नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउने भन्नेमा तपाईंहरू केन्द्रित हुनुपर्नेछ ।
परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु यो समयको अनिवार्य आवश्यकता भइसकेको छ ।
स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञान, प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।
अब गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग अनि प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञानको उत्पादनमा विशेष मेहनत गर्नुपर्ने देखिन्छ ।
विश्वविद्यालयले प्रदान गर्ने शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित नरही समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्छ भन्ने मेरो धारणा छ ।
यसका लागि नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा हुनु आवश्यक हुन्छ । हाम्रा विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्छ । आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छ ।
उपस्थित विशिष्ट महानुभावहरू,
विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो संख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो ।
सक्षम र ऊर्जाशील जनशक्तिले आफ्नै मुलुकभित्र सम्भावना र अवसर किन सिर्जना गर्न नसकेको हो ?
नेपालमा सम्भावना नभएकै कारण युवाहरू विदेश भौँतारिरहेका हुन् त ?
यसको कारण र समाधान पनि हामीले नै खोज्नुपर्छ, जसको जिम्मेवारी विश्वविद्यालयहरुको पनि हो ।
हाम्रा पाठ्यक्रम, पठन पद्धति र समग्र शिक्षा प्रणाली कति समयसापेक्ष र व्यावहारिक छन् ? तिनले उद्यमशीलता, नवप्रवर्तन र स्वदेशमै अवसर सिर्जना गर्ने आत्मविश्वास जगाइरहेका छन् कि छैनन् ?
आजको यस महत्त्वपूर्ण अवसरमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विज्ञ-विशेषज्ञ सबैले गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकता म देख्दछु ।
अन्त्यमा, अनुशासन, परिश्रम र मानवीय मूल्यहरू नै दीर्घकालीन सफलताका आधार हुन् । आजको दिनले विद्यार्थीहरूमा यी मूल्यप्रति थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
साथै, विश्वविद्यालयले पूर्वाधार सुदृढीकरण, अनुसन्धान तथा विकासमा ध्यान केन्द्रित गर्दै अध्ययनरत विद्यार्थीहरूलाई सरकारी तथा निजी संस्थासँग सहकार्य र व्यावहारिक अनुभवका अवसरहरू उपलब्ध गराउनेतर्फ आफ्ना प्रयासहरु केन्द्रित गरोस् ।
अन्त्यमा, लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा सम्पन्न हुन गइरहेको निर्वाचन अत्यन्त महत्वपूर्ण अवसर हो ।
यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई हार्दिक आह्वान गर्दछु ।
धन्यवाद।
२०८२ फागुन ८, पोखरा ।