आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो


धनुषा, ९ फागुन । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो ।

प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

उनले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाहीस्वरूप हटाइएको र अब फेरि यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने बताए ।

यहाँ विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँस्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलले आफ्नो पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न आग्रह गरेका छन् ।

“नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने छ । अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गर्ने अवस्था आउँछ”, उनले भने,“चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्छौं । यसको पालनाका लागि सबैलाई आग्रह छ ।” रासस