२०७९ को निर्वाचनमा सुदूरपश्चिमबाट दोस्रो धेरै मत पाएका रास्वपा धनगढीका संस्थापक सभापति बिष्टले पनि त्यागे पार्टी


काठमाडौं, फागुन ९ । धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन्। बिष्टले पार्टीको साधारण सदस्यसमेत नहुने गरी रास्वपा परित्यागको घोषणा गरेका हुन्।

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका उनले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएको जानकारी दिएका छन्। उक्त निर्वाचनमा उनी सुदूरपश्चिम प्रदेशमा रास्वपाबाट दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका थिए।

बिष्टले पछिल्लो समय पार्टीको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको भन्दै पार्टी परित्याग गरेको जनाएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली–५ मा रास्वपाबाट उम्मेदवार बन्न इच्छुक रहेका बिष्टलाई पार्टीले टिकट नदिई आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका बिष्टले कुल तीन हजार ४०५ मत प्राप्त गरेका थिए।